धादिङ ०३ मङ्सिर
असार मसान्तदेखि जिल्ला कारागार धादिङको स्टोरमा थन्किएको बाँसको मुढा कात्र्तिक महिनादेखि निर्यात हुन थालेको छ । जिल्ला कारागार धादिङका कैदी बन्दीहरुले बनाएको मुढा बजारमा माग नभएपछि स्टोरमै थन्किएको थियो । लामो समयदेखि चीनतर्फ निर्यात हुन छाडको बाँसका मुढा जिल्ला कारागार धादिङबाट पुनः केरुङ्ग हुदै निर्यात हुन थालेको जिल्ला कारागार धादिङका जेलर गङ्गालाल योगीले बताउनु भयो । लामो समयदेखि बन्द भएको मुढा निर्यात हुन थालेपछि धादिङका कैदी बन्दिहरु खुसी भएका छन् । बजारमा मुढाको माग नभएका कारण जिल्ला कारागार धादिङमा थन्किएको लाखौ बाँसका मुढा बिक्री भएता मुल्यमा गिरावट आएपछि कैदी बन्दीहरु चिन्तित बनेका छन् ।
जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा बार्षिक एक करोड मुल्य बराबरको चीनको बजारमा निर्यात हुदै आएको थियो । अहिले स्थानीय बजारमा मुढा त्यति खपत नहुने र विदेशतिर समेत जान छाडेको कारण मुढा बनाउन प्रयोग हुने कच्चा सामानको मूल्य समेत नउठेको कैदी बन्दिहरुको गुनासो रहेको छ । मुढा बनाउनको लागि आवश्यक सामानहरु बहिरी जिल्लाबाट ल्याउनु पर्ने भएकाले समयमा नै सामान नआउँदा निकै समस्या हुने गरेको जिल्ला कारागार धादिङका कैदी बन्दी ठुलकान्छा राई बताउनु हुन्छ । हाल रसुवाको केरुङ्ग नाका हुँदै धादिङ कारागारबाट हरेक १५ दिनमा एक ट्रक मुढा चीनतर्फ निर्यात हुन थालेको छ । मुढा निर्यात हुन थालेपछि मासिक १०/१५ लाखको विक्रि हुने उनीहरुको अनुमान छ ।
पहिला व्यापारी तथा स्थानीहरुले मुढाको साइज अनुसार प्रति गोटा रु. ३ सय सम्म किनेर लैजाने गरेता पनि हाल दुई सय ८० मा मात्रै विक्री गर्नु पर्दा लागत उठाउन कठिन भएको कैदी बन्दीहरु बताउछन् । मुढाको लागि आवश्यक १ वटा टायरलाई पहिले ७ रुपैंयामा किन्ने भएता पनि अहिले २७ सय रुपैंया पर्ने कैदी बन्दीहरु बताउछन् । कैदी बन्दीहरुले आफ्नो समय र सीपको सदुपयोग गर्दै बाँसबाट मुढा र डाइनिङ टेबलहरु निर्माण गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस