धादिङ १६ बैशाख
उत्तरी धादिङको किन्ताङ फेदीमा निर्माण भएको चाईनीज मेटालिक हाईब्रिड बेलीवृजको आईतबार उद्घाटन गरिएको छ ।
संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा बेलिवृजको उद्घाटन गर्नुभएको हो । खनियाबास गाउँपालिका वडा नम्बर ४ र नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर १ जोड्ने किन्ताङफेदी खोलामा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलीबृज नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोगमा निमार्ण गरिएको हो ।
निर्माण सम्पन्न पुल ३० टन क्षमताको छ । गत २०८० साल असोज १२ गते शिलान्यास भए सँगै आज भव्य समारोहको बिचमा उद्घाटन गरिएको हो । उक्त बेली ब्रिजको कुल १ करोड १० लाख लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँ पालिका, गंगाजमुना गाउँ पालिका र नेत्रावती डबजोङ गाउँ पालिकाले सहयोग गरेको खनियाास गाउँ पालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । बेलीबृले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्न सहयोग पुग्ने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाका महारथी प्रभुराम शर्माले जनताका लागि काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद रामनाथ अधिकारीले उत्तरी धादिङलाई जोड्न अझै २ ओटा पुल बनाउन आग्रह गरिएको बताउनुभयो ।
त्यस्तै संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्लले १० बर्षे महान जनयुद्ध,जनआन्दोलन मार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत बिकाससंगै जनताले चाहेजस्तो बिकासका मोडेलको मुल फुटेको बताउनुभयो । उहाँले सिंगो धादिङ जिल्लाको बिकास र संबृद्धिमा माओवादी केन्द्र सधैँ सकरात्मक तथा समन्वयमा अग्रणी भुमिका निर्वाह गरिहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकारका नेत्वसंग आगामी आर्थिक वर्षका वजेटमा धादिङका विकट तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर योजना विनियोजन गर्न पहल गरिरहेको समेत जिल्ला ईन्चार्ज मल्लले स्मरण गराउनुभयो ।
पुल नहुँदा बर्षाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दा वर्षाको समयमा पानी बढेपछि यातायात विच्छेद भई खाने सामान चामल, दाल, नुन तेल लान सकिएको थिएन भने विरामी तथा विपत्तिको घडीमा लाखौँ खर्चेर हेलिकप्टरको साहरा लिन पर्दथ्यो । अब वर्षाको समयमा पनि खनियाबासको झार्लाङसम्म सवारी साधन सञ्चालन हुनेछ ।
खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्ल ,प्रदेश साम्सद डम्बर बहादुर तामाङ, गोबिन्द लम्साल,रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ,गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा,नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस