धादिङ ०३ मङ्सिर
यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ हुने भएको छ । जिल्ला होटल संघले आयोजना गर्ने भनिएको उक्त महोत्सव जिल्ला होटल संघलाई जिल्ला प्रशासन कार्यालय धादिङले महोत्सवजन्य गतिविधि गर्न रोक लगायपछि अन्तिम समयमा आएर शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेड मूल आयोजक बनेर महोत्सवको तयारी अगाडि बढाइएको हो । मङ्गलबार पत्रकार सम्मेलनमार्फत महोत्सवको बारेमा जानकारी गराइएको हो । नीलकण्ठ नगरक्षेत्रभित्र उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने मूल लक्ष्य लिएको उक्त संस्थाले महोत्सवमा करिब १६ करोड बराबरको कारोबार तथा २ लाख दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।
कृषि उत्पादन तथा कृषिजन्य प्रबिधिको प्रदर्शनी, धादिङ जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने, वस्तु तथा सेवाहरुको प्रदर्शनी, घरेलु उद्योगको प्रदर्शनी, लगानीको वातावरण सिर्जना गर्ने लगायतका उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा कृषिजन्य वस्तुहरुको प्रदर्शनी, जिल्लामा उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी र विक्रिवितरण, जिल्लाको कला, संस्कृतिको प्रस्तुती, १३ वटा नै गाउँ नगरमा रहेका सांस्कृतिक खानाको व्यवस्था, औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री, ताजा तरकारी तथा फलफूल तथा कृषि उपज प्रदर्शनी, दुग्ध परिकार प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न घरेलु उद्योगको प्रदर्शनी, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती आदि रहेन छन् ।
जम्मा १ सय ८० वटा स्टल रहने महोत्सवमा कृषिजन्य तथा जडिबुटी, मीठा परिकार सहितका होटलहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल्स, मदिरा एवं सुर्तीजन्य वस्तुहरु, इलेक्ट्रोनिक्स, पर्यटन, हस्तकला तथा छालाका सामानहरु, स्थानीय कला तथा संस्कृतिहरुको प्रदर्शनी रहने मेला मूल आयोजक समिति संयोजक कल्पना अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस