धादिङ १० बैशाख
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठ तथा लेनिनको १५५औं जन्म जयन्तीको ऐतिहासिक अवसरमा लेनिन तथा महान् जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षपूर्ण आन्दोलनका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रेस वक्तव्य जारी गरेको छ ।
सोमबार ने.क.पा (माओवादी केन्द्र) धादिङका संयोजक मनराज भण्डारी (शैलेस), र सचिव दिपक लामिछाने (सुवोध) हस्ताक्षर गरिएको प्रेस वक्तव्य जारी गरिएको हो । सामन्तवादको अवशेषको रुपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य गरी जनवादी क्रान्ती मार्फत समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यको साथ पुष्पलाल श्रेष्ठको नेतृत्वमा रुसी क्रान्तिका नायक भि. आई लेनिनको जन्म जयन्तीको अवसरमा २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रील २२) नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
विश्व कम्युनिष्ट घोषणा–पत्र जारी भएको १०२ वर्ष पछि, सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित पार्टीले सामन्तवाद, दलाल नोकरशाही पुंजीबाद तथा साम्रराज्यवादबाट शोषित उत्पिडीत नेपाली जनता र मुलुकलाई मुक्त गर्ने उद्देश्य राखिएको थियो।
२०१५ सालको पहिलो आम निर्वाचनमा चार सिट जितेको कम्युनिष्ट पार्टीलाई जननिर्वाचित सरकार विघटन सँगै तत्कालिन राजा महेन्द्रले प्रतिवन्ध लगाए। यसै क्रममा केशरजंग रायमाझीले पञ्चायतको समर्थन गरेपछि कम्युनिष्ट पार्टी विभाजन भयो। विभाजनको क्रममा झापामा तत्कालिन विद्रोही कम्युनिष्टहरुले ’वर्ग शत्रु सफाय अभियान’ चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लियो । २०४० सालमा क. निर्मल लामाको नेतृत्वमा चौम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भयो र पार्टी विभाजन गरी निर्मल लामाले नेकपा चौम गठन गरे पश्चात् मोहन विक्रम सिंह महामन्त्री बने ।
०४१ सालको महाधिवेशनमा पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा मोहन विक्रम सिंहमा सैद्धान्तिक विचलन रहेको भन्ने प्रतिवेदन प्रश्तुत् गर्नुभयो र मोहन बैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्यो । ०४२ सालको पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रिय सदस्य मध्ये चार जना लिएर मोहन विक्रमले नेकपा (मसाल) गठन गरे भने ०४३ सालमा नेकपा (मशाल) को तर्फबाट काठमाण्डौंमा प्रही विट आक्रमण तथा पोष्टर टाँस्ने काम भयो र जुन् घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार भई पार्टीलाई गम्भीर क्षेती पुग्न गयो। उक्त घटना सेक्टर काण्डको रुपमा परिचित छ। सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि उनले महामन्त्रीबाट राजिनामा दिए भने २०४५ सालमा नेकपा (मशाल) सम्मेलनले क. पुष्पकमल दाहाल (प्रचण्ड) लाई महामन्त्रीमा निर्वाचित गरी माओवाद पास गरियो साथै सोहीबेला दीर्घकालिन जनयुद्धको कार्यदीशा समेत पास गरिएको थियो ।
२०४६ सालको जनआन्दोलनमा नेकपा (मशाल), नेकपा (मसाल), सर्वाहारा श्रमिक सङ्गठन, नेकपा (चौम) लगाएत मिलेर संयुत्त जनआन्दोलन समिति बनाई जनआन्दोलनमा होमियो र ०४८ सालमा जनमोर्चा मार्फत् चुनावमा सहभागी भई ९ सिटमा विजय हासिल भयो । नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते जनवादी क्रान्तीको बाटोमा अघी बढौं भन्ने मूल नाराको साथ सामन्तवाद, नोकर शाही पुंजीवाद, साम्राज्यवाद र विस्तारवादको विरुद्ध महान् जनयुद्धको शंखघोष गरी जनमिलिसीया र छापामार दस्ता तयार गर्दै जनयुद्ध मार्फत ग्रामीण इलाकाहरु कब्जा गर्दै पुराना सत्ताका अंगहरुलाई शहर केन्द्रीत गराउँन बाध्य पार्यो। ०५४ सालको किलो सेरा टू अप्रेशनको प्रतिरोध गर्दै जनयुद्ध निरन्तर अगाडी बढ्दै गयो। नेकपा माओवादीको ०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट ’२१ औं शताब्दीमा जनवादको विकास बारे नामक कार्यदिशा र गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधान सभाको चुनाबको कार्यनीति पास गरी सम्मेलन सम्पन्न भयो ।
नेपाली जनताको माया, विश्वास र सहयोगमा उचाई हासिल गर्दै गएको महान् जनयुद्धले गाउँ बस्ती हुँदै जिल्ला सदर मुकामसम्म कब्जा गर्न थाल्नुको साथै शाही निरंकुशताको कारण तत्कालिन संसदवादी दलहरु रुष्ट बन्न पुग्नुको परिणाम स्वरुप नेकपा माओवादीसँग सहकार्यको ढोका खुल्यो। १० वर्षे महान् जनयुद्धको उत्कर्ष तथा ०६२÷६३ को संयुत्त जनआन्दोलन पश्चात् निरंकुश राजतन्त्रको अन्त्य भयो । ऐतिहासिक संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनुको साथै मुलुकमा संघीयता, धर्म निरपेक्षता, समावेशीता सहितको समाजवाद उन्मुख संविधानको जारी भयो । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठ तथा क. लेनिनको १५५औं जन्म जयन्तीको यस ऐतिहासिक अवसरमा लेनिन तथा महान् जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षपूर्ण आन्दोलनका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं। सम्पूर्ण वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान सहित स्मरणको साथ सबै घाइते योद्धाहरुलाई स्वास्थ्य लाभको कामना एवम् सम्मान प्रकट गर्दछौं ।
संविधानको कार्यान्वयन, बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढी समृद्ध, सुशासन, सामाजिक न्याय सहितको विकसित नेपाल निर्माण गर्न सबै तह र तप्काबाट अगाडी बढ्न विनम्र अनुरोधको साथ हार्दिक शुभकामना ब्यक्त समेत व्यक्त गरीएको छ ।
प्रतिक्रिया दिनुहोस