धादिङ ९ बैशाख
जिल्ला प्रशासन कार्यलय धादिङले सेवाग्राहीको घरमै नागरिकता प्रदान र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको छ ।
नागरिकता पाउन योग्य भएर पनि अपांगताको कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता बनाउन नसकेका गंगा जमुना गाउँपालिकाका दुई जनालाई प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे नेतृत्वको जिल्ला प्रशासन कार्यालय धादिङको टोलीले नागरिकता प्रदान गर्नुका साथै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको हो ।
वडा नं ४ रातमाटे र काकचेतका क्रमशः वर्ष १७ कि सुस्मिता थापा र वर्ष १९ कि धन माया वाडालाई बैशाख ८ गते शनिबार उक्त टोलीले घरमै पुगी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । साथै सोही अवसरमा राष्ट्रिय परिचयपत्रको लागि निजहरूको विवरण समेत दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर समेत उपलब्ध गराईएको छ ।
अब उनीहरू सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभएको छ ।
यस अघि २०८० फागुन २ गते गजुरी गाउँपालिका वडा नं ८ ठूलो बाङ्गेस्थित सेवाग्राहीकै घरमा पुगी ७४ बर्षीय कान्छीमाया तामाङ, ६९ बर्षीय सुनिता गोले र २४ बर्षीय नवराज थोक्रा तामाङलाई यस्तै सेवा उपलब्ध गराईएको थियोे ।
जिल्लाका अन्य स्थानमा अशक्त र अपांगता भएका सेवाग्राहीहरू रहेको पाईए त्यस्ता सेवाग्राहीलाई समेत यथाशीघ्र सेवा उपलब्धि गराईने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभएको छ । साथै जिल्ला प्रशासन कार्यालय धादिङ सेवामा नागरिकको सहज पहुँच र छरितो सेवाका लागि प्रतिवद्ध रहेको समेत जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस