भूकम्प गएको भोलि चार वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष भित्रमा पुन निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्धघाटन गर्न काभ्रे पुग्नुभएका प्रधानमन्त्री ओलीले केही संरचनाबाहेक अन्य भने १ वर्षमा सम्पन्न हुने दाबी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुनर्निर्माणले गति लिएको दाबी गर्दै १ वर्षभित्रमा पुनर्निर्माण सक्ने अठोट पनि व्यक्त गर्नुभएको छ । ध्वस्त भएका ९ लाख घर र ९ हजार विद्यालय पुनर्निर्माण टुंग्याएको भन्दै प्रधानमन्त्री ओलीले आउँदो एक वर्ष भित्रमा पुनर्निर्माण टुंग्याउने गरी लागेको जानकारी दिनुभयो । धरहरा, रानी पोखरी लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने तर्क गर्दै उहाँले कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा त्यस्ता महत्त्वका सम्पदाहरुमा जति हतार गर्दा पनि नसकिने बताउनुभयो । आज बिहान फेरी भूकम्प गएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले राम्रो घर बनाउन सचेत गराएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस