धादिङ ०२ मङ्सिर
नीलकण्ठ नगरपालिका र जापानको यसोहारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले सोमबार जापानको यसोहारा नगरपालिकाको उप–मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा आएको हो । गत जेठ १४ गते दुई नगरपालिका बीच विकासमा साझेदारी गर्ने समझदारी भएको थियो । जापान र नेपालको संस्कृति, धर्म, विकास, शिक्षा, पुर्वाधार जस्ता विषयमा एक आपसमा साझेदारी गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनु भयो । कार्यक्रममा जापानको युसिहारा नगरपालिका, कोची युनिभर्सिटी र जाइकाका प्रतिनिधिहरुले नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए ।
जापानी प्रतिनिधि मण्डललाई स्वागत गर्दै जापान र नेपालको विकास निर्माणका मोडलहरुलाई एक आपसमा साटासाट गर्दै सम्बृद्ध नीलकण्ठ निर्माणमा यो सम्बन्ध एउटा महत्त्वपूर्ण सिकाइ बन्ने नगर उप प्रमुख मनराज भण्डारीले बताउनु भयो । यसोहारा नगरपालिकाले धादिङको ज्वालामूखी गाउँ पालिकामा ग्याबिन तार जालीको अध्ययन अनुसन्धान गर्दै आएको तथा एउटै परिवारको रुपमा विकास, कला संस्कृतिलाई एक आपसमा आदान प्रदान गर्दै अगाडि बढ्ने युसिहारा नगरपालिकाका डेपुटी मेयरले बताएका थिए । विकास निर्माणका, शिक्षा, कृषि र संस्कृतिसँग सम्बन्धित नयाँ ज्ञान तथा सिपलाई एक आपसमा आदान प्रदान गर्दै अगाडि बढ्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस