धादिङ ०२ मङ्सिर
शिद्धालेक गाउँपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम सोमबार शिद्धालेक गाउँपालिका वडा नं. ५ बुङचुङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धादिङ र शिद्धालेक गाउँपालिकाको संयुक्त लगानीमा बनेको ५ कोठे नव निर्मित भवनको कुल लागत प्राबिधिक मुल्याङक्न अनुसार अनुमानित ७३ लाख १५ हजार २ सय २७ रुपैंया भएता रु ६६ लाखमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रमकै अबसरमा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता गुरु प्रसाद पौडेल, वडा कार्यालय जाने बाटो दिने जग्गादाता हरि प्रसाद सिलवाल र जगमाया घलेलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जगन्नाथ नेपालले शिद्धालेक गाउँपालिका विकास निर्माण तथा प्रशासकिन चुस्तताका हिसाबले जिल्लाकै उत्कृष्ठ गाउँपालिकाको रुपमा चिनिएको बताउनु भयो । नेपालले शिद्धालेक गाउँ पालिकाले नागरिकको चाहाना अनुसार काम गर्दै अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आफ्नो कार्यकालभित्र गाउँ पालिकाका सबै कच्ची सडकहरु कालोपत्रे गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो । गाउँ पालिकाका सबै घरहरुमा १ घर १ धारोको लक्ष्यका साथ अगाडि बढेकाले तिर्खामुक्त गाउँ पालिका निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो । शिद्धालेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिद्धालेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौड्ल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गाउँ पालिका भित्रका जनप्रतिनिधिहरु लगायत स्थानीय बसिन्दाहरुको सहभागिता रहेको थियो । ७ वटा वडा रहेको शिद्धालेक गाउँ पालिकाको हालसम्म ५ वटा वडा आफ्नै सुविधा सम्पन्न पक्की भवनमा कार्यालय सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस