धादिङ १ बैशाख
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको सेमिनार सम्पन्न भएको छ ।
वडा नम्बर ८ को कार्यालय रामकोटमा शुक्रबार सेमिनारको आयोजना गर्दै एसईई दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने र कसरी विषय छान्ने भन्नेलगायतका शीर्षकमा सुझाव र सल्लाह दिएको वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सेमिनारमा एसईईको रिजल्ट पर्खेर बसेका करिब ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । एसईईपछि विद्यार्थीहरुले के पढ्ने ? भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुले आफ्नो करिअरका लागि राम्रो कलेज र विषय छान्न सहज बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरीको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ’सबैलाई एसईई पछि के पढ्ने, कस्तो विषय रोज्ने र कुन विद्यालयमा पढ्ने भन्ने चिन्ता हुन्छ । यसको लागि आफ्नो रोजाई के हो र रुची कुन विषयमा हो त्यसमा स्पष्ट हुनुपर्छ । अनि बल्ल कलेज छान्नु पर्छ ।’
सेमिनारमा प्रशिक्षकहरुले विद्यार्थीहरुलाई भविष्य निर्माणका लागि स्तरीय शिक्षा दिने विद्यालय रोज्न पर्ने बताउनुभएको थियो । जीवनको बाटो कता लैजाने भन्ने तय गर्ने खुड्किलो एसईईपछिको अध्ययन भएकोले सोचेर र विचार गरेर मात्रै विषय एवं कलेज छान्न प्रशिक्षकहरुले सुझाव दिनुभएको थियो ।
सेमिनारमा धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,नीलकण्ठ क्याम्पस प्रमुख नवराज शर्मा, डा दिनेश रेग्मी, धादिङ अस्पताल नर्सिङ इन्चार्ज नारायणी थापा, धादिङ अदालतका अधिवक्ता रामकृष्ण अधिकारी, ज्वालमुखी गाउँपालिका ईन्जिनियर जयराम अर्याल,ट्राफिक प्रहरी धादिङका सई जयराम पुडासैनी ,युवा व्यवसायी एव सामाजिक अभियन्ता, अशोक बस्नेत, पत्राकार तथा सिनियर मनोविमर्शकर्ता रामकुमार थापा, सहकारीकर्मी युवाव्यवसायी राजकुमार श्रेष्ठ , हेमराज श्रेष्ठ , नगरपालिका अमिन दान बहादुर कुमाल लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु छवि प्रसाद काप्री, दुर्गा अधिकारी , विमला बराइली, उमेश मगर, प्रधानाध्यापक प्रकाश श्रेष्ठ, खिल बहादुर धमला,वडा सचिव लक्ष्मण पौडेलले सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस