गोरखा २० चैत्र
गोरखा नगरपालिकाले विपदमा परि ज्यान गुमाउने प्रति व्यक्तिलाई राहतस्वरुप ५० हजार उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास गरेका नागरिक विपदमा परी मृत्यु वरण गरेमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरप्रमुख कृष्णबहादुर रानामगरका अनुसार नगरपालिको विपद् व्यवस्थापन कार्यविधि, २०८० हालै स्वीकृत भएकाले नगरपालिकाले व्यक्ति तथा बालीनालीको क्षति, पशुपंक्षीको क्षति भएमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था भएको छ ।
स्वीकृत कार्यविधि अनुसार विपदमा परी मृत्यु भएका व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई १५ हजार उपलब्ध गराइने कार्य विधीमा उल्लेख गरिएको छ ।
कार्यविधीमा नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा २५ हजार, आंशिक क्षति भएमा १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा २० हजार र आंशिक क्षति भएमा १० हजार राहतस्वरुप उपलब्ध गराउने कुरा समावेश गरिएको पनि नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
विपदमा परी पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा १० हजार, आंशिक क्षति भएमा ७ हजार, सामान्य टहरो पूर्ण क्षति भएमा ८ हजार, सामान्य क्षति भएमा ६ हजार, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षतिभएमा ३ हजार, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा १० हजारसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ ।
कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा बढीमा २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइने कार्यविधीमा उल्लेख गरिएको छ ।
नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा भैँसी, गाईगोरु मरेमा प्रतिगोटा बढीमा १० हजार, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा ५ हजार, व्यावसायिक दर्ता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका २० हजार तथा गोठखोर क्षति पुगेमा १० हजारसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने छ ।
कार्यविधि स्वीकृत भएसँगै चैत्र १७ शनिबार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै भएको दुर्३घटनामा परी मुत्यु बरण गरेका गोरखा नगरपालिका–७ का ५ जना मृतक र १ जना बेपत्ताका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले बताउनुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस