धादिङ १४ चैत
धादिङको गजुरी गाउँपालिकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई सम्मान गरेको छ ।
बुधबार गाउँपालिले एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई फुलका गुच्छा तथा मालाले स्वागत,सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नूहुदै राष्ट्रिय सभाका अध्यक्ष दाहालले गजुरी गाउँपालिकाले गरेको न्यानो स्वागत तथा बधाई प्रेरणाको स्रोत बन्ने बताउनुभयो । उहाँले २०७२ सालको संविधानमा जारी भएको ऐन तथा कानुनहरु कार्यन्वयन गर्न सहज नभएको हुँदा त्यस प्रति महत्व राखी सबै जनताले अनुभुति हुनेगरि विश्वासको वातावरण सिर्जना गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रियसभा सिधैँ नगरपालिका,गाउँपालिकासंग जोड्ने भएको हुँदा स्थानीय तह र सातै प्रदेशको विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले निश्चित एउटा पार्टीबाट निर्वाचित भएर आएको भएता पनि सबै राजनैतिक दल, जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी लगायत सम्मुर्ण जनताको हितमा कार्य गर्ने बताउनुभयो । –‘राज्य सञ्चालन गर्नका लागि कतिपय ऐन कानुनहरु पुराना भएको हुनाले बाधा अड्चन र कठिनाईहरु सृजना हुने भईरहेका छन्,जसलाई परिमार्जन संशोधन गरि हरेक क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्नका लागि मेरो भुमिका महत्वपुर्ण हुनेछ’–अध्यक्ष दाहालले भन्नुभयो ।
कार्यक्रमकै अवसरमा गाउँपालिकाले ४ वुँदे अनुरोधपत्र प्रदान गरिएको छ । जसमा १.फोहोरमैला व्यवस्थापन केन्द्र २.ट्रमा केयर सहितको सुविधासम्पन्न अस्पताल ३.ईलाका प्रशासन कार्यालय केन्द्रको स्थापना ४.एकीकृत यातायात सेवा सहितको यातायात कार्यालयको स्थापना रहेको छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष श्रेष्ठले आफ्नो गरिमामय पदको उचित सदुपयोग गर्दै देश बिकास र नीतीगत सुधारमा ध्यान दिने विश्वास व्यक्त गर्नूभयो । उहाँले समग्र गजुरी गाउँपालिकाको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । गाउँपालिकाले राष्ट्रिय सभाका अध्यक्ष समक्ष बुझाएको ४ बुँदे पत्रलाई विशेष ध्यान दिनुहुनेछ भन्ने कुरामा आफु विश्वस्त रहेको समेत स्पष्ट पार्नुभयो ।
गाउँपालिकाको शिक्षा शाखा अधिकृत सन्तोष पौडेलले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विशुराल,प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सभापति दुर्लभ कुमार तामाङ, विभिन्न शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, पत्रकार र स्थानीयको भव्य उपस्थिती रहेको थियो ।
अध्यक्ष दाहाल गत फागुन २९ गते नयाँ गठबन्धनको तर्फबाट निर्वाचित हुनुभएको हो । दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस