धादिङ ११ चैत्र
तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ ।
गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।
उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।
पशु चिकित्सक डा शाहका अनुसार उक्त पालिकाको वडा नं १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा नं २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा नं ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा एक हजार एक सय ६९, वडा नं ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नं ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो ।
यसैगरी वडा नं ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा नं ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ ।
अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहे पनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा शाहले बताउनुभयो ।
घुम्ती शिविरबाटै बीमाको प्रचार–प्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ ।
पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उहाँले बताउनुभयो ।
पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा शाहले बताउनुभयो ।
डा शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस