धादिङ १० चैत
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा निशुल्क मुटु जाँच शिविर सञ्चालन गरिएको छ ।
शनिबार नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको सहकार्यमा सल्यान्टार स्वास्थ्य केन्द्रमा सञ्चालन भएको हो ।
मुटुरोग सम्बन्धि अन्तरक्रियात्मक सचेतना कार्यक्रमका साथ सञ्चालन भएको उक्त निःशुल्क मुटु जाँच शिविरमा ३ सय ३५ जनाले सेवा लिएका छन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आएको चिकित्सक टोलीले वीपी जाँच, सुगर परिक्षण, ईसिजी तथा ईको सेवा प्रदान गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा ३४ जनाको ईको र १ सय ५६ जनाको ईसिजी परिक्षण गराएका छन् ।
गाउँपालिकाले विभिन्न संघसंस्था संगको सहकार्यमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउदा नागरिकहरु खुशी भएका छन् , आगामी दिनमा पनि थप स्वास्थ्य सेवा सुधार तथा उपचार सेवामा गाउँपालिका लाग्ने विश्वास पनि स्थानीय नागरिकहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस