धादिङ ९ चैत
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विश्व पानी दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ ।
शुक्रबार बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले विश्व पानी दिवसको अवसर पारेर वडा नं.४ रिचोक पँधेरोको मुहान संरक्षणका लागि मुहान वरिपरी वृक्षारोपण गरिएको हो ।
सव डिभिजन वन कार्यालय बेनीघाट रोराङ गाउँपालिकाको समन्वय, अक्सफामको आर्थिक सहयोग र फोकस नेपाल धादिङद्धारा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Amm)परियोजनाको आर्थिक सहयोग तथा बेनीघाट रोराङ गाउँपालिकासँगको सहकार्य र बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा खानेपानी मुहान संरक्षणको लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकामा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यको सुरुवात गरेको र वर्षायामको समयमा प्रभावकारी रुपमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले रेडियो बिहानीलाई बताउनुभयो ।
वृक्षारोपण कार्यक्रमबाट स्रोत संरक्षणमा सघाउ पुग्ने र उपभोक्ताहरुमा पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको वेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा ३९ वटा विरुवा डेमोको रुपमा वृक्षारोपण गरिएको छ । वर्षायाममा वृहत वृक्षारोपण गर्ने योजना रहेकोले सो योजनालाई समेत सघाउ पुग्ने उद्धेश्यका साथ विश्व पानी दिवसको दिन डेमोको रुपमा वृक्षारोपण गरिएको निर्देशक उप्रेतीले बताउनुभयो ।
उक्त वृक्षारोपण कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिका तथा बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे सब डिभिजन वन कार्यालय बेनिघाट रोराङका वन अधिकृत, वडा नं ४ का वडा अध्यक्ष, वडा सदस्य, खानेपानी बोर्डका कर्मचारी टिम, समाजसेवी लगायत रिचोक पोखरीका आम जनसमुदायको सहभागिता थियो ।
विश्वमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस