धादिङ ८ चैत्र
जिल्ला प्रशासन कार्यालय धादिङले आउदै गरेको फागु पूर्णिमा (होली पर्व) मर्यादित तवरले मनाउन आग्रह गरेको छ ।
विहिबार एक सुचना जारी गर्दै आपसी सद्भाव र रङ्गहरुको पर्व फागु पूर्णिमा (होली पर्व) २०८० का अवसरमा सम्पूर्ण धादिङ जिल्लावासीमा शुभकामना व्यक्त गर्दै उक्त कुराको जानकारी दिएको छ ।
प्रशासनले जारी गरेको सुचनामा रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छाविपरित जथाभावी रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग दल्ने/लोला हान्ने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थको सेवन गर्ने/गराउने, सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने अवाञ्छित तथा उछृङ्गल किसिमका कार्यहरु नगर्न/नगराउन र प्रचलित मूल्य मान्यता एवं परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा पर्व मनाउन सबैमा अनुरोध गरेको छ ।
साथै सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था एवं व्यक्तिगत स्वतन्त्रता विरुद्धका कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस