धादिङ ०१ चैत्र
धादिङ आवाशीय माध्यमिक विद्यालयमा विद्यार्थीसंग च्याउ उत्पादन प्रयोगात्मक कार्य सञ्चालन गरिएको छ ।
विद्यालयका शिक्षक शिक्षिका र कक्षा ९ मा अध्ययनरत छात्र छात्राहरुको संयुक्त प्रयासमा प्रयोगात्मक कार्य (प्रोजेक्ट वर्क) को रुपमा च्याउ उत्पादन गरी तरकारीको रुपमा खाना योग्य बनाएको हो ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीको १० वटा समूह बनाई प्रत्येक समूहमा दुईवटा च्याउ उत्पादनको पोका मार्फत ४० दिन पछाडि विहीबार तयार भएको विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले विद्यालयले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान संगै कृषि उत्पादनमुखी सीप पनि सिकाएको बताउनुभयो । उत्पादन भएको च्याउको विक्री गरी आएको नगद वालक्लवको खातामा जम्मा गरि शैक्षिक गतिविधीमै लगानी गर्ने बताउनुभयो ।
स्कुलमा अध्ययन गर्ने विद्यार्थीले घरमै बसेर भएपनि सहजै च्याउ उत्पादन गरि तरकारीको रुपमा प्रयोग गर्न सकिने सीपको बिकास भएकोमा खुशी भएको बताउदै प्रिन्सिपल पाण्डेले यस्तो किसिमको व्यवसायिक सीप सृजनाले परिवारमा आर्थिक सहयोग पुग्ने पनि बिश्वास व्यक्त गर्नुभयो ।
गुणस्तरीय पठन पाठनसंगै अतिरिक्त क्रियाकलापको रुपमा विद्यार्थीसंग च्याउ उत्पादन प्रयोगात्मक कार्यले व्यक्तिगत जीवनमा आवश्यक अति महत्वपुर्ण उत्पादनमुखी क्षेत्रको सीप सिकाईमा सहयोग गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गर्दछौँ आगमी दिनमा विद्यालयले यसलाई निरन्तरता दिएर व्यवसायिक सिप र सृजनामा जोड दिनुपर्ने विद्यार्थीहरुको भनाई थियो ।
शैक्षिक क्षेत्रमा धादिङ जिल्लामै अव्वल दर्जामा स्थापित धादिङ आवाशीय माध्यमिक विद्यालयले पढाई संगै खेलशिक्षा,प्राविधिक तालिम,कृषि उत्पादन सिप बिकास जस्ता कार्यक्रमको आयोजना गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस