धादिङ ३० कार्तिक
धादिङको सदरमुकाम धादिङबेसीका बासिन्दाहरु ढल मिस्रित पिउने पानी प्रयोग गर्न बाध्य छन् । नीलकण्ठ नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र धादिङबेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चरम लापरबाहीका कारण धादिङबेसीका बासिन्दाहरु दुषित पानी पिउन बाध्य भएका हुन् । सडकका छेउ छेउमा रहेका नालाहरुमा खानेपानीका पाइपहरु विछ्याइएकाले धादिङबेसीका नागरिकहरु शुद्ध पिउने पानी प्रयोग गर्नबाट बञ्चित भएका हुन् । घर घरबाट निस्कने फोहर पानी र खानेपानीका पाइपहरु सडक छेउका नालामा सगैँ रहकोले पानी आउने पाइपका जोर्नीहरुबाट फोहोरका कीटाणुहरु सहजै प्रवेश गर्ने विशेषज्ञहरु बताउँछन् । सडकका नालाहरुमा अत्याधिक फोहोरका डङ्गुर र त्यही फोहोरसगँै खानेपानीका पाइपहरु रहेका छन् । सदरमुकाममा फोहोरको व्यवस्थापन तथा ढल र घर घरबाट निस्कने सौचालयको ढलको फोहोर समेत सिधै खानेपानीमा मिसिएको छ । धादिङबेसीको पिउने पानी दुषित हुँदै गएपछि पानीमै कोलिफर्म नामक किटाणु समेत भेटिएको स्थानियबासी बताउँछन् ।
मुहानको समेत उचित व्यवस्थापन गर्न नसकेकाकाले समय समयमा खानेपानीको धारामा समेत मरेका जीवजन्तुका अवशेष आउने गरेको स्थानीयको अनुभव छ । मुहान वरपर उचित सरसफाई नहुनु, तारबार नहुनु, ढलमा नै खुल्ला रुपमा पोलेथिन पाईप राखेर खानेपानी वितरण गरेकोले पनि पानी नै प्रदुषित हुन पुगेको स्थानीयहरु बताउँछन् ।
धादिङबेसी सदरमुकामलाई स्मार्ट सिटी बनाउँछु भन्दै मेयरमा निवार्चित भिम प्रसाद ढुङ्गानाले भने धादिङबेसी ढल व्यवस्थापनको डिपिआर भैसकेको बताउन थालेको १ वर्ष भन्दा बढी भैसक्दा पनि काम सुरु हुन सकेको छैन । ढल व्यवस्थापनका लागि ५० करोड भन्दा बढी रकम व्यवस्थापन गर्ने भाषण गर्दै हिडेका ढुङ्गानाले व्यवहारमा भने केही गर्न नसकेको स्थानीयको गुनासो छ ।
यस्तै दुषित खानेपानी वितरण गरेर धादिङबेसीका नागरिकहरुसँग रकम असुल्दै आएको धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले नागरिकहरुसँग रकम असुल्ने बाहेक केही काम गर्न सकेको देखिदैन । २०७१ साल चैत्रमा उपभोक्ता समितिको अध्यक्षमा ठुलै तामझामका साथ निवार्चित गणेश कुमार श्रेष्ठले हालसम्म संस्थाको वार्षिक साधारण सभा समेत गर्न सकेका छैनन् । नागरिकलाई दुषित पानी खुवाउने कि खानेपानीका पाइपहरुको व्यवस्थापन गर्ने भनेर सोध्दा अध्यक्ष श्रेष्ठले सबै खानेपानीका पाइपहरुको व्यवस्थापन भइसकेको पत्याउनै नसकिने जवाफ दिए । उनको जवाफलाई हामीले प्रस्तुत गरेका तस्बिरहरुले गिज्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस