धादिङ खनियावास
२२ फागुन
धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियावास गाउँपालिका वडा नम्बर २ (गजेली स्योङ) स्थित रहेको तातोपानी कुण्ड पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
सदरमुकाम धादिङवेशीबाट साँङकोष–तिप्लिङ सडक खण्ड अन्तर्गत ४५ किलो मिटर दुरीको सवारी यात्रा गरि करिब ३ किलोमिटर पैदल यात्रा गर्दा उक्त कुण्डमा पुग्न सकिन्छ । हिमालरुपी कडा चट्टान पहराको बिच भागबाट उत्पन्न भएको तातोपानीको भने छुट्टै धार्मिक तथा सामाजिक महत्व रहेको पाईन्छ ।
दुई स्थानमा रहेको उक्त कुण्डमा पहिलो स्थानमा मनतातोपानीमा स्नान गर्न सकिन्छ भने दोस्रो स्थानमा पुरै तातोपानीको धारा बग्ने गर्दछ । यस कुण्डमा स्नान गर्दा दमरोग,छाला सम्बन्धी चर्मरोग निको हुने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने जनविश्वास रहेको छ ।
कार्तिक महिना र चैत्र महिनामा विभिन्न स्थानीय तहका श्रद्धालु भक्तजन दर्शनार्थीहरुको भीड लाग्ने उक्त तातोपानीमा पुजाआजा गरि स्नान गर्दा ग्रह शान्ति हुने,परिवारमा सुःख शान्ति संबृद्धि छाउने,रोगव्याधी नलाग्ने जस्ता धार्मिक मान्यता छ । भौगोलिक रुपमा विकटता भएका खनियावास गाउँपालिका धार्मिक सांस्कृतिक शैक्षिक पर्यटकीय स्वास्थ्य तथा भौतिक पुर्वाधार क्षेत्रको बिकासमा भने त्यहाँका जनताले निकटता रहन चाहेका छन् ।
नेपाल संघीय संरचनामा गएपश्चात स्थानीय तहको पहिलो कार्यकाल २०७४ साल देखि नै गाउँपालिकाले प्राथमिकतामा राखेर उक्त क्षेत्रलाई संरक्षण र बिकास गरिरहेको गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले बताउनुभयो । –‘‘मेरो पहिलो कार्यकाल २०७६ सालमा ४ करोड ५० लाख बराबर लागतमा डीपीआर सम्पन्न गरेको छु, गाउँपालिकाले जति प्राथमिकतामा राखेर बिकास गर्न खोज्दा पनि आवश्यक स्रोतको अभावले सोचे अनुरुप बिकास भने गर्न सकेको छैन, त्यसैले तातोपानी पर्यटन पुर्वाधार बिकासको लागि आगामी आर्थिक वर्षमा संघ र प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्न माग गर्दछु ’’– अध्यक्ष तामाङले रेडियो बिहानीसंग कुरा गर्दै भन्नुभयो । प्रदेश सरकार,पर्यटन वोर्ड र गाउँपालिकाको साझेदारीमा हामीले सजिलै पैदल यात्रा गर्न सकिने त हामीले बनायौँ, लक्ष्य अनुरुप बिकास गर्न भने गाउँपालिका निरन्तर लागिरहने अध्यक्ष तामाङको भनाई छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट लोकप्रिय बन्दै गएको तातोपानी क्षेत्रको बिकास गर्न आवश्यक रहेको बताउनुभयो । –‘हामी जनअर्थतन्त्रको आधार, पर्यटन बिकास,कृषि र पुर्वाधार जस्ता कुरालाई आत्मसाथ गर्दै संबृद्ध खनियावास गाउँपालिका निर्माणको लक्ष्य लिएर काम गरिरहेको छौँ,–’उपाध्यक्ष तामाङले भन्नुभयो ।
तातोपानी क्षेत्रको अवलोकन गर्न पुगेका जापनका नागरिक कोची विश्वविद्यालयका प्रो.डा ताडाजी हाराले मनै लोभ्याउने आन्तरिक तथा वाहृय पर्यटकको गन्तव्य बनेको तातोपानी क्षेत्रको बिकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।–‘गाउँपालिका अध्यक्षसंगको मेरो पहिलो भेट जापान भएको थिए हाम्रो सम्बन्ध पनि साथीभाई जस्तै भैसकेका छौँ,त्यसमा पनि म भौतिक पुर्वाधारतर्फको विज्ञ भएको हिसावले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु’–डा.हाराले बताउनुभयो ।
भ्रमणमा पुगेका विदेशी पाहुनहरुलाई गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि बाजा गाजाले स्वागत समेत गरेको थियो ।
सामाजिक बिकासको जगको रुपमा लिएका सडक सञ्जालको बिकास नेताले भाषण गरे सरह बन्ने हो भने उत्तरी धादिङको जनताको दैनिकी र जीवन स्तर माथि उकास्न धेरै समय पर्खनु पर्दैन, राजनैतिक अस्थिरता,समन्वय सहकार्यको अभावले देशमा कयौँ यस्ता पर्यटकीय क्षेत्रको बिकास पछाडी परेको छ ।
उत्पादनमुखी कृषि प्रणाली,पर्यटन पुर्वाधार लगायत समूदाय केन्द्रित बिकासमा सर्बपक्षीय ध्यान केन्द्रित बन्न सके संबृद्ध स्थानीय तहको परिकल्पनाको सपना साकार बन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस