धादिङ ५ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार धादिङको वेनीघाट रोराङ गाउँपालिका चरौदी स्थितमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटनगर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
उहाँले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताउनुभयो । नेपाल बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालका लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउँनुहुदै लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिनुभयो ।
हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गर्नुभयो । लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिनुभयो ।
सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेल, विभिन्न गाउँपालिकाका जनप्रतिनिधी,विभिन्न आमा समूह पत्रकार राजनैतिक दलका प्रतिनिधीहरुको भव्य सहभागी रहेको थियो ।
शनिबारबाट सुरु भएको ईण्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता फागुन ८ गते समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस