धादिङ २५ कार्तिक
नीलकण्ठ नगरपालिका धादिङले नगरपालिका भित्र राखेको अधिकांश सोलार बत्तीहरु प्रयोग विहिन भएका छन् । आर्थिक वर्ष ०७३/०७४ मा नीलकण्ठ नगरपालिका र हिमाल रेफ्रिजेरेसन एण्ड इलेक्ट्रिकल इन्जिनियरिङबीच कुल ४० लाख १ हजार लागतमा ५५ वटा सोलार बत्ती जडान गर्ने सम्झौता भएता पनि सम्झौताको एक वर्ष नपुग्दै अधिकांश सोलार बत्तीहरु बल्न छोडेका हुन् । स्थानीयले पटक पटक मौखिक गुनासो गर्दा गर्दै पनि नगरपालिकाले मर्मत सम्भारमा तदारुकता नदेखाएको स्थानीयहरुको गुनासो छ । बजारक्षेत्रका अधिकांश सोलार बत्ती नाम मात्रको भएको र सम्बन्धित निकाय मौन बसेको स्थानीय नारायण कुमार श्रेष्ठ बताउँछन् । अघिल्लो आर्थिक वर्षमा राखेका सोलार बत्तीहरु नै काम नगर्ने अवस्थामा हुदाँ हुदै आर्थिक वर्ष ०७५/०७६ मा नगरपालिकाले हरेक वडामा ३/३ वटा पर्ने गरी थप ५५ वटा बत्तीका लागि सन वए सोलार एण्ड इलेक्ट्रोनिक्स टेक्नोलोजिसँग रु. ४२ लाख ८२ हजार ६ सय ४० मा ठेक्का सम्झौता गरेको छ । निर्माण कार्यको १ वर्ष अबधीसम्म सम्बन्धित निर्माण व्यवसायीले ने मर्मत गर्नुपर्ने कानुनी व्यवस्था भएता पनि नगरपालिकाले ताकेता गर्न नसक्दा सोलार बत्तीहरु अलपत्र परेका हुन् । नगरपालिकाले लगानी मात्र गर्न उपभोक्ताले प्रयोग गर्न नपाउने भएपछि जनताको करबाट उठाइएको रकम यत्तिकै खेर गएको स्थानीय उपभोक्ता गुनासो गर्छन् ।
यता नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल भने सम्बन्धित कम्पनीले मर्मत सम्भार गर्न आनाकानी गरेको स्वीकार गर्दै धादिङमा दक्ष प्राबिधिक नपाएका कारण यस्ता अवस्था सिर्जना भएको बताउछन् । चालु आर्थिक वर्षमा ६५ वटा सोलार बत्ती थप गरेको बताउँदै पौडेलले ११ वटा बत्ती मर्मत सम्भार गरेको बताउँछन् । सोलार बत्ती जडान गरेको केही महिनामै काम गर्न छोड्नु, नियमित मर्मत सम्भार पनि नहुनुमा मिलेमत्तोमा कमसल खालको बत्ती जडान गरिएको समेत स्थानीयले आसङ्का गर्न थालेका छन् । स्मार्ट सिटिको परिकल्पनाका साथ अगाडि बढेको नीलकण्ठ नगरपालिकाले कुनै पनि उल्लेखनीय र आम जनताले महसुस गर्न योग्य काम नदेखिएको आम नगरबासीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस