धादिङ २९ माघ
धादिङमा आउदो फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ ।
सोमबार धादिङमा पालिका खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरि उक्त अभियानबारे जानकारी दिएको हो ।
नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म २२ हजार २ सय ३७ बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको जानकारी दिनुभएको छ ।
जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रूवेला विरुद्धको खोप दिन लागेको हो । त्यस्तै नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका र नेत्रावति डबजोङ गाउँपालिकामा भने फागुनको २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन हुनेछ ।
जिल्लाका २ सय २ वटा नियमित खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत रिजालले बताउनुभयो । उहाँले खोप अभियानका लागि जिल्लाभर २१ जना स्वास्थ्यकर्मी, ४२ जना स्वयंसेवक र १५ जनाले एइएफआईको अनुगमन गर्ने चिकित्सकको टोली रहने बताउनुभयो ।
गत वर्ष पनि नेपालमा दादुराको प्रकोप भएको थियो। लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो। अर्घाखाँचीमा ११, दाङमा ३९, बर्दिया ७२, बाँकेमा तीन सय २९ र कपिलवस्तुमा २३ जना दादुराका बिरामी फेला परेका थिए। गत वर्ष नेपालमा एक हजार तीन सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि खोप अभियानको सुरुवात गरिएको हो ।
प्रतिक्रिया दिनुहोस