गङ्गालाल गुरुङ
धादिङ २५ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. २ स्थित जुरेथुमको बागेश्वरी मन्दिरमा सोमबार बेलुकीबाट भव्य कैलाश जात्रा शुरु हुने भएको छ । उक्त मन्दिरमा प्रत्येक वर्षको कार्तिक शुक्ल पूर्णीमाको अघिल्लो रात कैलाश जात्रा हुन लागेको हो । धार्मिक दृष्टिकोणले चर्चित मन्दिरको रुपमा रहेको बागेश्वरी मन्दिरमा पूजा– आजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वास रहदै आएको छ । तस्बीरमा देखिएको डाडाभन्दा अलि पर रहेको जहाँ पुग्न करिब १० मिनेट हिडेपछि जात्रास्थल पुग्न सकिनेछ । सदरमुकाम धादिङबेशीबाट करिब २ घण्टाको पैदल दुरी पछि पुग्न सकिने सो मन्दिरमा सोमबार बेलुका भव्य जात्रा लाग्दै छ । जात्राको लागि सोमबार बिहानदेखि चहलपहल बढेको जुरेथुमका स्थानीय वासिन्दाले बताएका छन । सोमबार रातभरी जागाराम बसि बत्ति बाल्नाले आफूले सोचेको कुरा पुरा हुने जनविश्वासको कारण सोमबार राति वागेश्वरीमा बत्ति बाल्न जानेको भिड सोमबार दिउँसो देखि नै लागेको छ । बत्ति बाल्नको लागि जुरेथुम, केरावारी, पात्ले, हिले खर्क, सिउडीवार, चिसापानी, सिम्ले ,तिनघरे, साङकोष, भुलभुले लगायत धादिङबेशीबाट समेत हजारौको संख्यामा महिलाहरु सोमबार बागेश्वरी पुग्ने गर्दछन । धादिङ सदरमुकाम आसपासको सबैभन्दा ठूलो जात्राको रुपमा कैलाश जात्रालाई लिने गरिन्छ । जात्रामा भाकल गरेकाहरुले सोमबार रात्ती नै र मङ्गलबार दिनभरी नै बोका, कुखुरा, हाँस लगायतको बलि दिने परम्परा रहेको छ ।
सो जात्रा हेर्नको लागि मानिसहरु दशै तिहारमा घर नआई जात्रामा आउने गर्दछन् । जुरेथुमबाट नजिकै रहेको सो स्थानमा हजारौको संख्यामा जात्रा हेर्न भनि विभिन्न गाउबाट सानो नानीबाबु देखि बृद्धबृद्धाहरु समेत आउने गर्दछन । बुढापाकाका अनुसार प्रत्येक वर्ष कैलाश जात्रामा ५ देखि १० जनाको भागेर विहे हुने गरेको बताईन्छ । बाजा गाजा सहित जुरेथुम, तीनघरे, सिउडीवार , पात्ले , केरावारी लगायतका गाउँहरुबाट करिब ५० भन्दा बढि फूलको डोली बागेश्वरी लाने गर्दछन् । विभिन्न गाउँ गाउँबाट ल्याइएका डोलीलाई वागेश्वरी मन्दिरमा फुल तार्ने काम गरिन्छ । सोमबार रातभरी वागेश्वरी मन्दीर वरपर बत्ति बाल्ने र जात्रा हेर्न आउनेको भिडले सो वरपरको वातारण उल्लासमय बन्ने गर्दछ । रातभरी रमाईलो गरी भोली बिहान विभिन्न गाउबाट ल्याईका डोलीहरु फिर्ता आउने र घरमा आएर रमाईलो गर्ने परम्परा रहदै आएको छ । धादिङ सदरमुकामबाट सवारी साधनमा समेत जात्रा स्थल नजिकै पुग्न सक्ने भएपनि अधिकांश मानिस बेलुकाको जात्रा भएको कारण हिडेर नै पुग्ने गर्दछन् ।
धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको बागेश्वरी मन्दीरसम्म वाटो पु¥याउने हो भने त्यहाँको महत्व अझ बढने छ । कैलाश जात्रा लाग्ने ठाउबाट धादिङको अधिकांश ठाउहरु प्रष्ट रुपमा देखिने भएकोले पनि पर्यटकीय सम्भावना प्रवल रहेको छ । गणेश हिमाल , अन्नपूर्ण ,सुनौलाबजारको भैरवी टावर , फूलखर्कको गंगाजमुना झरना , लापा, झार्लाङ, तिप्लिङ लगायतका ठाउहरु सो स्थानबाट देख्न सकिनेछ । कैलाश जात्रा पछिल्लो समयमा आएर युवाहरु विदेशीने र मादक पदार्थ सेवन गरी झै–झगडा गर्छन् भन्ने त्रासको कारण पहिलेको तुलनामा केही मात्र मानिसको संख्या कमि हुदै गएको अनुमान गर्न सकिन्छ । सदरमुकाम नजिकैको प्रसिद्ध मन्दिरमा लाग्ने जात्रामा प्रहरी प्रशासनको व्यवस्था नहुने हुदा त्यस ठाउँमा झै–झगडा भएमा त्यसले उग्र रुप लिन सक्ने हरेक वर्ष चिन्ताको विषय बन्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस