धादिङ २२ माघ
राष्ट्रिय दलित पत्रकार संघ नेपालको पूर्ण बैठक सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम धादिङबेशीमा बसेको संघको केन्द्रीय समितिको पूर्ण बैठकबाट ६ बुँदे धादिङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
आईतबार पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले सो कुराको जानकारी दिनुभयो । बैठकले संघको वार्षिक साधारणसभा आगामी फागुन २८ र २९ गते काठमाडौंमा गर्ने, संघका जिल्ला तथा प्रदेश कमिटीका बैठकहरु बस्ने र संघलाई तत्काल थप प्रभावकारी तथा क्रियाशिल बनाउन सिंगो टीम संगठित रुपमा लाग्ने आन्तरिक निर्णयहरु गरेको छ ।
यस्तै बाहिरी रुपमा संघले तत्काल गर्नुपर्ने सामाजिक मुद्धाका तथा सवालहरु बारे पनि ठोस निर्णय गरेको छ । जसमा बसौंदेखि न्यायीक छानविन हुन नसकेर शव समेत टिचिङ अस्पताल काठमाडौंमा राखिएका अजिर मिजार लगायतका घटनालाई न्यायीक छानविनका लागि जोडदार आवाज उठाउने लगायतका विषयहरुमा निर्णयहरु गर्दै ६ बुँदे धादिङ घोषणापत्र जारी गरेको हो ।
यस्तो छ, ६ बुँदे धादिङ घोषणापत्र
१. काभ्रे पाँचखालका अजित मिजारको अन्तरजातीय विवाह गरेकै कारण २०७३ साल असार २९ गते रहस्यमय हत्या गरिएको र उनको शव ८ बर्षदेखि टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौमा अझै सम्म राखिएकाले सो घटनाको न्यायीक छानविन र अन्त्येष्टीका लागि विशेष पहल गर्ने ।
२. सरकारी तथा गैरसरकारी निकायमा दलितहरुको मुद्धा उठाउने तथा भौतिक सहभागीता गराउने विषयमा विशेष जोड दिने।
३. दलित पत्रकारहरुबाट संचालित सञ्चार माध्यमहरुलाई राज्यद्धारा कर छुट गर्ने व्यवस्था गर्नुपर्ने तथा पत्रपत्रिका वर्गीकरण गर्दा दलित पत्रकारबाट संचालित पत्रपत्रिका तथा सञ्चार संस्थाहरुको वर्गीकरणमा विशेष सहुलियत दिनुपर्ने । साथै सरकारी सञ्चार माध्यम, प्रेस काउन्सिल लगायतका नीतिगत तहमा दलित समुदायका सञ्चारकर्मीको प्रतिनिधित्व अनिवार्य गराइनुपर्ने ।
४. नेपाल पत्रकार महासंघ तथा राज्यद्धारा संचालित सञ्चार संस्थान तथा निकायहरुमा दलितहरुको पूर्ण समानुपातिक सहभागिता गराउनुपर्ने ।
५. माथि उल्लेखित सबै मागहरु तथा मुद्धाहरु पूरा गर्नका लागि प्रधानमन्त्री, सभामुख तथा सरकारी निकायको उच्च तहमा भेटघाट तथा वार्ता सम्वाद गर्ने ।
६. धादिङको पर्यटन तथा सीप अभिवृद्धि तथा प्रवद्धनमा सञ्चार क्षेत्रबाट आवाज उठाउने । साथै बैठक सम्पन्न गर्न आवस्यक सहयोग गर्ने निलकण्ठ नगरपालिका, जनप्रतिनिधिहरु, स्थानीय दलित अधिकारकर्मी, सञ्चारकर्मी साथीहरुलाई विषेश धन्यवाद ज्ञापन गर्दछौं ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, श्रमजीवी दलित पत्रकार सँगै लाखौ दलित समुदायहरुको साझा संगठन हो । आफ्नो मुक्तिका लागि संबैधानिक मौलिक हकहरुले दिएका अधिकारहरुको कार्यान्वयन गराउने सवालमा राज्यलाई दबाव गर्दै सामाजिक न्याय र सुशासनको मुद्धा अगाडि सार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस