धादिङ २३ कार्तिक
पाठ्य पुस्तक विद्यार्थीहरुको मात्र नभई शिक्षक तथा शिक्षिकाहरुको हात–हातमा अनिवार्य हुनु पर्ने शिक्षा विकास तथा समन्वय ईकाई धादिङका शाखा अधिकृत तुल बहादुर महतले बताउनु भएको छ । पुस्तक व्यवसायीहरुले राज्यको शिक्षाको स्तर विकासमा महत्वपूर्ण सहयोग गर्दै आएकोले व्यवसायीको समस्या समाधानको लागि राज्यले नै पहल गर्नु पर्ने उहाँले बताउनु भयो । शनिबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नं ३ को पाँचौं पूर्ण बैठकमा महतले सो कुरा बताउनु भएको हो । पुस्तक व्यवसायीहरुले आफूले पुस्तक ल्याउन केन्द्रीय स्तरमा धर्नामा बसेर ल्याउनु पर्ने समस्या अझै पनि कायमै रहेकोले व्यवसायीलाई समस्या पर्ने गरेको महतको भनाई रहेको छ ।
यस्तै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नं ३ नेपालका अध्यक्ष किरण कुमार खनालले धादिङ शाखाले सरकारी विद्यालयहरुमा व्यवस्थित तरिकाले पाठ्य पुस्तक वितरण गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले विद्यार्थीसँग नेपाल सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्य लिन नपाउने उहाँले बताउनु भयो । वि.सं.२०६० साल साउन २५ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भई १२ जना व्यवसायीहरुबाट नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सञ्चालनमा आएको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष पञ्चकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धादिङका शाखा अधिकृत तुल बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नं ३ नेपालका अध्यक्ष किरण कुमार खनाल, धादिङ उद्योग बााणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नं ३ का प्रथम उपाध्यक्ष तुलसी प्रसाद अधिकारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं ३ का द्धितीय उपाध्यक्ष रमेश ढुङ्गेल लगायत धादिङका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस