धादिङ १४ माघ
बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बागमती प्रदेश सरकार खेल क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको बताउनुभएको छ ।
आईतबार सदरमुकाम धादिङवेशीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नव उद्घाटित जिल्ला खेलकुद विकास समितिको भवनलाई बागमती प्रदेश सरकारले पूर्णता दिने बताउनु भयो ।
देशमा संघीयता आईसके पछाड़ी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खेल क्षेत्रमा धेरै लगानी गरेको तर त्यसलाई संस्थागत हिसाबले खेलकूद क्षेत्रलाई विकास गर्दै लैजान जिल्लाका सबै स्थानीय तहलाई दृढतापूर्वक लगानी गर्न पनि आग्रह गर्नुभयो ।
खेलाडीलाई खेल प्रदर्शन गर्दा अनुशासन, गतिशीलता र मर्यादित भएर खेल्न आग्रह गर्नुभएको छ । अहिले पनि संघीय तवरबाट खेल निति नबनेको कारण हरेक जिल्लामा २÷२ वटा खेलकुद परिषद् भवन स्थापित भएको र यसलाई अब सक्रिय पूर्वक एउटै बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालको सात वटा प्रदेश मध्यमा खेलाडीहरूको लागि विमाको निति सञ्चालन गर्ने प्रथम र पहिलो प्रदेश बागमती प्रदेश सरकार भएको पनि बताउदै सामाजिक विकास मन्त्रालयले खेलकुद क्षेत्रलाई अगाडी बढाउदै गर्दा खेलाडीहरुलाई प्रोत्साहन र खेलको आयोजना गर्ने मात्र नभई, खेललाई शैक्षिक हिसाबले विकास गर्नका लागि विद्यालय तथा क्याम्पसहरुमा खेल शिक्षक नै नियुत्ति गर्नेउद्देश्यका साथ कार्य गरिरहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निश्चित बजेट भित्रको ५७ प्रतिशत बजेट खेल क्षेत्रमा छुट्टाइएको पनि बताउनुभयो । मन्त्री मोक्तानले कवर्डहल परिसरमा मैदान निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खेललाई व्यवस्थित र संस्थागत ढंगबाट विकसित गरेर लैजान जिल्ला स्तर तथा पालिका स्तरको खेलमैदान निर्माणको लक्ष्यको समेत छलफल भईरहेको बताउनुभयो ।
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षता तथा मन्त्री मोक्तानको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो । प्रदेश सांसद गोविन्द लम्साल,जिसस प्रमुख नवराज अधिकारी, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ,गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, प्रहरी प्रमुख एसपी गौतम मिश्र, पत्रकार महासंघ अध्यक्ष राजाराम शर्मा,तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङ लगाएतको आतिथ्यता रहेको थियो ।
आईतबारबाट सञ्चालन भएको प्रतियोगिता मंगलबार समापन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस