धादिङ २२ कार्तिक
कृषि बजार अध्ययनका लागि जिल्ला स्तरीय छलफल कार्यक्रम शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ जिल्लामा कृषि उत्पादनको क्षेत्र र कृषि बजारको सम्भाव्यता के कस्तो छ ? भन्ने मुख्य उद्देश्यका साथ कृषि ज्ञान केन्द्र धादिङको आयोजनामा छलफल कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा कृषकहरुले कृषि क्षेत्रमा देखा परेका समस्याहरुको बारेमा गुनासो राखेका थिए । साथै कृषकले उत्पादन गरेका तरकारी बजार व्यवस्थापनको अभावका कारणले गर्दा खेर जाने गरेको बताएका छन् । पछिल्लो समयमा किसानहरुले तरकारीबालीमा विषादी प्रयोग नगर्दा उत्पादन नहुने भन्ने मानसिकता कृषकहरुमा देखिएको कृषकहरुले गुनासो गरेका थिए । साथै किसानहरुमा अर्गानिक खेती एउटा फेसन जस्तो हुने गरेको बताएका छन् । सहभागिहरुले उठाएका समस्याहरुको बारेमा काठमाडाँै विश्व विद्यालयका प्राध्यापक अच्युत प्रसाद वाग्लेले जवाफ दिनुका साथै धादिङको कुन कुन क्षेत्रमा बजार व्यवस्थापनका सम्भावनाहरु रहेका छन् सो बारेमा जानकारी समेत लिनु भएको थियो । धादिङका किसानहरुले उत्पादन गरेको तरकारी बालीहरुको सङ्कलन केन्द्र कुन–कुन ठाउँमा राख्दा उपयुक्त हुन्छ र धादिङका किसानहरुले कति मेट्रिक टन तरकारी उत्पादन गर्न सक्छन् ? भन्ने बारेमा जानकारी लिनु भएको थियो । किसानहरुले धादिङ जिल्लामा उत्पादन भएका तरकारीहरु हरेक गाउँ पालिकाको केन्द्र भागमा सङ्कलन केन्द्र राख्नु पर्ने माग गरेका थिए । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता रहेको कार्यक्रममा काठमाडाँै विश्वविद्यालयका प्राध्यापक अच्युत प्रसाद वाग्ले, निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, विभिन्न कृषि सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस