धादिङ ११ माघ
धादिङमा फागुन ४ गते सालक दिवस मनाईने भएको छ ।
विहिबार डिभिजन वन कार्यालय धादिङमा शिक्षकहरु र संचारकर्मीहरुसँग बैठक बसि फागुन ४ गते शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा सालक दिवस मनाउने निर्णय गरेको हो ।
धादिङका नागरिकहरुलाई सालकको बारेमा जानकारी नभएको हुनाले सचेतना जगाउने र संरक्षण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय धादिङको संयोजकमा दिवस बनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
सालकको बारेमा जानकारी नहुँदा चोरी तस्करी बढेकोले यसको संरक्षण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । साथै उहाले राज्यले अहिलेसम्म हात्ती, गैंडाको संरक्षणमा लगानी गरेको तर सालकको संरक्षणको लागी कुनै पनि लगानी नगरेको र सालककै संरक्षणको लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो ।
सम्पुर्ण शिक्षकहरु र संचारकर्मीहरुसँग छलफल गर्दै कार्यक्रमको अवसरमा सालकको बारेमा सरल भाषामा आम नागरिकहरुले बुझ्ने गरि सालकको बारेमा तयार गरिएको गित, कथा, कविता समावेश गरि पुस्तिका समेत प्रकाशन गरिने समेत बताउनुभयो ।
साथै शालक सम्बन्धी भजन, तथा नृत्यहरु समेत प्रस्तुत गरिने छ । दुर्लभ मानिएको सालक धादिङ जिल्लामा मात्र नभएर बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ ।
विशेष गरि विद्यार्थीहरुबाट सहज रुपमा प्रचारप्रसार हुने हुनाले पनि दिवसको अवसरमा नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई र सामुदायिक वनका उपभोक्ताहरुलाई विशेष प्राथमिकतामा राखेर मनाईने भएको हो ।
प्रतिक्रिया दिनुहोस