धादिङ ९ माघ
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित गलौदी खेलमैदानमा हुने नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने भएको छ ।
बुधबार माघ १० गते देखि २१ गते सम्म सञ्चालन रहने नवौं धादिङ महोत्सवमा २४० स्टल रहने र मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पुर्याउने रहेको उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले रेडियो बिहानीलाई बताउनुभयो ।
घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्याफ्टिङ हुनेछ भने स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।
उक्त महोत्सवमा दैनिक रुपमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको वेजोड लोक सांस्कृतिक प्रर्दशनी रहने छ । कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ,जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस