धादिङ २२ कार्तिक
गङ्गा जमूना गाउँपालिकामा तीन दिने निशुल्क आखाँ शिविर शुक्रबार देखि सुरु भएको छ । गङ्गाजमुना गाउँपालिका वडा नं. ५ स्थित फुलखर्क स्वास्थ्य चौकीमा शुक्रबारदेखि तीन दिने आँखा शिविर सुरु भएको हो । फुलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा शिबिर सञ्चालन भैरहेको छ । शिविरको पहिलो दिन शुक्रबार नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका डाक्टर कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्काले बिरामीहरुको आँखा जाँच गर्नु भएको थियो । आँखा शिविरको पहिलो दिन शुक्रबार १ सय ४० जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरुको आँखा शुक्रबार नै अप्रशन गरिएको आयोजनकले जानकारी दिएको छ । शिविरमा अप्रेसन गरिने विरामीलाई कालो चस्मा र खानाको लागि जाउलो निःशुल्क वितरण गरिएको शिबिरका संयोजक नवराज अधिकारीले जानकारी दिनुभयो । शिविरमा गाउँपालिकाभरिका सम्पूर्ण आँखाका विरामीहरुले आफ्नो आँखा परीक्षण गराउन सकिने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस