धादिङ २६ पौष
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को प्रशासकीय भवन र कृष्ण मन्दिर उद्घाटन भएको छ ।
विहीबार वडा नम्बर ५ का वडा अध्यक्ष कुश बहादुर सिटौलाको सभाध्यक्ष गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता र उपाध्यक्ष देवराज धरेलको विशेष आतिथ्यतामा उद्घाटन भएको हो ।
करिब ६ महिना अगाडि नै भवन सम्पन्न गरि उक्त भवनबाट नै सेवा दिदै आईरहेको उक्त कार्यालयले विहीबारबाट विधिगत रुपमा सेवा दिने भएको छ । १ रोपनी क्षेत्रफलमा बनेको डेड ढलानको वडा प्रशासकीय भवन ६० प्रतिशत जिल्ला समन्वय समिती र ४० प्रतिशत गाउँपालिकाबाट रकम विनियोजन गरि ५४ लाखमा निर्माण सम्पन्न भएको हो ।
त्यस्तै वडा कार्यालयकै हाताभित्र रहेको कृष्ण मन्दिरको पनि गाउँपालिका उपाध्यक्ष देलराज धरेलद्धारा उद्घाटन गरिएको छ । वडाले आर्थिक वर्ष २०७९-०८० मा ३ लाख रकम विनियोजन गरि निर्माण गरिएको वडा अध्यक्ष कुश बहादुर सिटौलाले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले सबै गाउँबस्ती टोललाई पायक पर्ने स्थानमा वडा कार्यलय निर्माण गर्न सफल भएकोमा सबै वडाबासी खुसी हुनुपर्ने बताउनुभयो । वडा कार्यलय निर्माणमा जग्गा दान गर्नुहुने,आर्थिक तथा भौतिक रुपले सहयोग गर्नुहुने सबै निकाय व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । २०७४ साल देखि २०८० साल सम्म दोस्रो कार्यकालको नेतृत्व गरिहँदा वडा नम्बर ५ को जनताको जीवनस्तर,सेवामा सहजमूलक प्रशासन लगायत शैक्षिक, भौतिक तथा सिपमूलक बिकासको पक्षमा सधै पहल गरिरहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष सिटौलाले वडा कार्यलय भवन वरिपरी नै स्वास्थ्य ईकाई विन्दुको भवन बनाई जनतालाई स्वास्थ्य सेवाबाट समेत सहज रुपमा सेवा लिने वातावरण बनाउने प्रकृयामा रहेको बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले संबृद्ध त्रिपुरासुन्दरी गाउँपालिका निर्माण गर्न वडा नम्बर ५ लगायत सबै वडाको बिकासलाई जोड दिदै सम्बन्धीत मन्त्रलय निकायसंग पटक पटक छलफल,प्रस्तावना पेश भईरहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाको शैक्षिक बिकास, कृषि तथा पर्यटन,ऐतिहासिक धार्मिक क्षेत्र लगायतको बिकास तथा प्रचारप्रसारको लागि गाउँपालिकाले लगानी गरिरहेको स्पष्ट पार्नुभयो ।
स्थानीय प्रशासन,सहज सेवा सुशासन गाउँपालिकाको लक्ष्य रहेकोले वडा नम्बर ५ ले पनि त्यहि मार्ग सिद्धान्तमा काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो ५ बर्षे कार्यकालमा धादिङ जिल्लाको ११ वटा गाउँपालिकामध्ये त्रिपुरासुन्दरी गाउँपालिका १ नम्बरको संबृद्ध गाउँपालिका बनाउने लक्ष्य र योजना रहेको बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले वडा नम्बर ५ को प्रशासकीय भवनमा सेवा लिन पाउनुहुने सबै वडाबासीलाई धन्यवाद व्यक्त गर्दै मुस्कान सहितको सहज सेवासुविधा दिन सबै वडा कर्मचारीलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाको ७ नम्बर वडाको प्रशासकीय भवन डुवानमा पर्ने हुँदा सामान्य टहरामा सेवा दिन वाध्य भएको बताउनुभयो । पायक पर्ने स्थानमा जग्गा दाता खोजी भवन निर्माणको प्रकृया अगाडि बढाउन ७ नम्बरका वडा अध्यक्षलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाको न्यायिक तथा सुशासन,पारदर्शीता,महिला तथा वालवालिका ज्येष्ठ नागरिक अपाङगता भएका व्यक्ति, पिछाडिएका वर्ग समूदायलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष कपिलदेव सिंखडा, ७ का वडा अध्यक्ष सुवास अधिकारी(दर्पण)नेत्रावती र सल्यानटार क्याम्पसका प्रमुखहरु,धादिङ उद्योग वाणिज्य संघका कोषध्यक्ष सुमन धरेल,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,वडावासी लगायतको भव्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस