धादिङ १८ कार्तिक
धादिङ जिल्लामै पहिलो पटक शिक्षक हाजिरी जवाफ प्रतियोगिता सोमबारदेखि वेनिघाट रोराङ गाउँ पालिकामा सुरु भएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय, कक्षा ६–८, कक्षा १–५ गरी तीन तहमा प्रतियोगिता सञ्चालन गरिएको हो । गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार माध्यमिक तह स्तरीय हाजिरी जवाफ सोमबार बागेश्वरी मावि मलेखुमा, आधारभुत तह कक्षा ६ देखी ८ को शंखादेवी माध्यमिक विद्यालय मझिमटारमा कार्तिक १९ गते, र आधारभुत तह १ देखि ५ को चन्द्रोदय माध्यमिक विद्यालय बिशालटारमा कार्तिक २० गते प्रतियोगिता हुनेछ ।
सोमबार भएको माध्यमिक तह स्तरीय प्रतियोगितामा वेनिघाट रोराङ गाउँ पालिकाभित्रका ९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा वागेश्वरी माध्यमिक विद्यालय प्रथम, कालीका माध्यमिक विद्यालय धुषा द्धितीय, राष्ट्रिय माध्यमिक विद्यालय खोर भञ्ज्याङ तृतीय र हर्कपूर माध्यमिक विद्यालय सान्त्वना भएका हुन् । बेनिघाट रोराङ गाउँपालिकाले शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई जोड दिई रहेको बताउँदै शिक्षा अधिकृत पाठकले यो हाजिरी जवाफ प्रतियोगिताले शिक्षकमा नयाँ हौसला थपिएको बताउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक सड़गठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङले शिक्षक हाजिरी जवाफ प्रतियोगिता बेनिघाट रोराङले सुरु गरेकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रम सबै गाउँपालिकाले गर्नु पर्ने बताउनु भयो ।
फोटो : शेर बहादुर अधिकारी
प्रतिक्रिया दिनुहोस