धादिङ १८ कार्तिक
राज्यले जेष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार नगरेको नीलकण्ठ नगरपालिका धादिङका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । नीलकण्ठ नगरपालिकका जेष्ठ नागरिक संघ धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको प्रथम बार्षिक साधारण सभा कार्यक्रममा जेष्ठ नागरिकहरुले सो कुराको गुनासो गरेका हुन् । राज्य र स्थानीय तहको ध्यान जेष्ठ नागरिकहरुको आवश्यक सेवा सुविधा प्रदान गर्नमा नगएको बताउनु हुन्छ, नीलकण्ठ नगरपालिका वडा नं ९ की जेष्ठ नागरिक जगत कुमारी नेपाली । राज्यले जेष्ठ नागरिकहरु बिरामी हुँदा उपचार खर्च र पालन पोषणको जिम्मा लिन सके जेष्ठ नागरिकहरुप्रति सम्मान र सद्भाव बढ्ने नीलकण्ठ नगरपालिका वडा नं ९ का जेष्ठ नागरिक टेक बहादुर दुवाडीले बताउनु भयो ।
जेष्ठ नागरिकहरुलाई राज्यले प्रदान गदै आईरहेको बृद्धा भत्ता नगरपालिका तथा गाउपालिकाले सम्बन्धित व्यक्तिलाई मात्र दिनु पर्ने दुवाडीले बताउनु भयो । अन्य जिल्लाहरुमा यातायातका साधनहरुले जेष्ठ नागरिकहरुलाई कुल भाडाको ५० प्रतिशत छुट दिने गरेको भएता पनि धादिङमा भने यातायात व्यवसायीहरुले ४० रुपैयाँ मात्र छुट दिने गरेको थानेश्वर सापकोटाको गुनासो छ । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले सरकारी सेवा सुविधामा जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा सेवा लिन आउने जेष्ठ नागरिकहरुलाई कुनै समस्या आई परेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत उहाँले आग्रह गर्नु भयो ।
जेष्ठ नागरिक संघ धादिङका अध्यक्ष अब्ज नाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, प्रहरी निरीक्षक राजकुमार बैदवार, नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारी, जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बराम, नीलकण्ठ नगरपालिका भित्रका १४ वटा वडाका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । बार्षिक साधारण सभा कार्यक्रमकै अबसरमा विभिन्न वडाका जेष्ठ नागरिक तथा दलित जेष्ठ नागरिकलाई प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस