धादिङ १२ पौष
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
बिहीबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै अर्यालले शुक्रबार साढे १२ बजे जिल्ला समन्वय समितिकोे हलमा सार्वजनिक सुनुवाइ हुने जानकारी दिनु भएको हो ।
‘यो कार्यक्रम नितान्त जनप्रतिनिधिको कार्यक्रम हो, कुनै पार्टीसँग सम्बन्धित होइन,’ उहाँले भन्नुभयो । उहाँले जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने बताउनुभएको छ ।
सांसद अर्यालले एउटै प्लेटफर्मबाट एउटै समयमा प्रश्नहरू सोध्न, सुझाव दिन पाइने भएकाले सम्पूर्ण धादिङवासीलाई कार्यक्रमका लागि आमन्त्रण गर्नुभएको छ । ‘हामी ठीक १२ः३० मा कार्यक्रम सुरु गरेर ३ बजे सम्पन्न गर्ने तयारी गरेका छौँ,’ उहाँले बताउनुभयो ।
नागरिकका चासो, गुनासा र सुझावमा सरकोरावालाले जबाफ दिने सकारात्मक अभ्यासलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहनेछ । सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउने सांसद अर्यालले बताउनुभयो ।
नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिनेछन् । साथै लिखित रूपमा पनि आफ्ना प्रश्नहरू राख्न सकिने अर्यालको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस