धादिङ २५ मंसिर
धादिङको वेनीघाट रोराङ गाउँपालिकाले सुन्तलालाई प्रबर्धन गर्न ‘सुन्तला खाउँ बिऊ दिऊ’अभियान सञ्चालन गरेको छ ।
शनिबार गाउँपालिकाको वडा नम्बर २ को चेपाङबस्ती दुम्लिङमा सुन्तला खाउँ,बिऊ दिउँ कार्यक्रम संचालन गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले गाउँपालिकाको दुम्लिङ, कात्तिके र धुसेनीलाई सुन्तला, निबुवा र कागतीको पकेट क्षेत्र बनाई बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि प्रणाली अन्तर्गत सुन्तला,निबुँवा,कागती लगायतको नर्सरी गरि उत्पादन भएको विरुवालाई स्थानीय स्तरकै बस्तीहरुमा वितरण गरि निरन्तर प्रबर्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
वडा कार्यपालिकाले १ लाख बजेट विनियोजन गरि २० हजारको सुन्तला स्थानीय नागरिकसँग खरिद गरि सो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष हेमराज भुजेलले रेडियो बिहानीलाई बताउनुभयो । विऊ जोगाउँदै सुन्तला खेतीको क्षेत्र बढाउन निरन्तरता दिने वडा अध्यक्ष भुजेलले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,कर्मचारी,स्थानीय नागरिक,पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस