हेटौडा
हेटौँडा उपमहानगरपालिका–३ बस्ने विन्दवासिनी कंशाकारलाई एसीड छ्यापेर भाग्ने भारतीय नागरिक केशरी पक्राउ परेका छन् । विवाह प्रस्ताव अस्विकार गरेकै कारण किशोरीलाई एसीड छ्यापेर भागेका भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का राज भनिने दिलिपराज केशरीलाई बिहीबार राती बारा प्रहरीले पक्राउ गरेको हो । एसीड छ्यापेर भागेको करिब साँढे ६ बर्षपछि उनलाई बिहीबार राती मात्र बाराको भलोहीबाट पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो । पक्राउ परेका राज भनिने दिलिपराज केशरीलाई आवश्यक कारवाहीका लागि बारा प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको छ । केशरीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ बर्ष कैद हुने कानुनी प्राबधान रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताउनुभयो । पीडित कंशाकारले अभियुक्तलाई पक्राउ गर्ने निर्देशन दिने प्रहरी महानिरीक्षक, बाराका प्रहरी, प्रहरी नायब निरिक्षक सागर सम्शेर जबरालाई धन्यबाद दिएकी छिन् । अभियुक्त दिलीपराज केशरीलाई पक्राउ गर्ने खनालको योजना भएता पनि निर्वाचन लगत्तै हेडक्वाटर तानिएका कारण खनालको उद्देश्य पूरा हुन सकेको थिएन । तर जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी प्रमुखको जिम्मेवारी पाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो केशको फलोअप गर्न जिम्मेवारी दिएका थिए । प्रहरी महानिरीक्षकको निर्देशन, यसअघि मकवानपुर बस्दा समेत यो केशको फलोअप गरिरहेकै हुँदा अभियुक्त लुक्न सक्ने स्थानहरुका बारेमा प्रहरी उपरिक्षक खनालले केही सूचना पाएका थिए । सूचनाकै आधारमा उनले प्रहरी नायब निरिक्षक सागर सम्शेर जवरालाई परिचालन समेत गरेका थिए । २०७० साल बैशाख ९ गते विन्दवासीनी कंसाकारलाई आफ्नै पसलमा बसिरहेको बेला एसीड प्रहार गरी भागेका केशरी भारतमा लुकेर वसेका थिए ।
प्रतिक्रिया दिनुहोस