धादिङ १६ कार्तिक
छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सुर्यलाई पूजा आराधना गरी धादिङमा धुमधामका साथ मनाइएको छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर छठ पर्व मनाईने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबार देखि शुरु भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ । छठ पर्वका लागि धादिङबेसीको अरुण खोलाको नदी किनारमा सजावट गरिएको छ ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको छ । तराई भेगमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले मनाउने छठ पर्व विस्तारै नेपालभर विस्तार हुँदै गएको छ । धादिङमा छठ पर्व व्रतालु परिवारको संयोजनमा छठ पर्वको आयोजना गरिएको हो । धादिङ जिल्लामा बसोबास गर्ने मधेशी मूलका हिन्दु धर्मावलम्त्रीहरुको अग्रसरतामा आयोजित छठ पर्वमा अन्य समुदायको पनि बाक्लो उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस