धादिङ १२ मंसिर
धादिङको गंगाजमुना गाउँपालिकाले भौतिक पूर्वाधार तर्फका योजना तथा कार्यक्रमहरूमा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने भएको छ ।
सोमबार एक कार्यक्रमका बिच गङ्गाजमुना गाउँपालिकाले आ.व.२०८० – ०८१ मा भौतिक पूर्वाधार तर्फका योजना तथा कार्यक्रमहरूमा सबै भन्दा पहिले योजना तथा कार्यक्रम सम्पन्न गर्ने वडालाई आगामी आ.व. मा थप ५ लाख बजेटको योजना तथा कार्यक्रम दिने भएको हो ।
यस्तै वैशाख मसान्त सम्म पनि योजना तथा कार्यक्रम सम्पन्न नगर्ने वडालाई आगामी वर्षमा वडाले पाउने बजेट सिलिङ्गबाट ५ लाख बजेटको कटौती गर्ने निर्णय गरेको गाउँपालिकाको अध्यक्ष भक्त बहादुर लामाले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले कार्यसम्पन्नको निश्चितताको लागि प्राविधिक कर्मचारी सहितको अनुगमन टोलीले ईस्टमेट बमोजिमको गुणस्तरीय कार्य सम्पन्न भए नभएको अनुगमन गर्ने बताउँदै योजना तथा कार्यक्रमको गुणस्तरीयता सहित बजेटको सदुपयोग गरी समयमै कार्यसम्पन्न हुने र असारे बजेटको अन्त्य गर्न टेवा पुग्ने विश्वास लिएको स्पष्ट पार्नुभयो ।
गाउँपालिकाले गत आ.व. देखि पहिलो पटक उपभोक्ता समितिलाई विकास निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ भने समितिलाई प्रोत्साहन गरी कार्य गुणस्तरीयता र श्रमदान प्रति मोह बढाउन उत्कृष्ट उपभोक्ता समिति सम्मान कार्यक्रम पनि आयोजना गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस