धादिङ १० मंसिर
मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु खेतमा उत्रिएका छन् ।
दशै र तिहार जस्ता चाडपर्व मनाई सकेपछि उनिहरुलाई अहिले धान भित्र्याउने चटारो परिरहेको छ । उनिहरुलाई आफुले लगाएको धान बाली भित्र्याउन भ्याई नभ्याई छ ।
कोही धान काट्दै कोही बिटा लगाउदै छन् त कोही ओसार पसार गर्न व्यक्त रहेका छन् । वर्षभरी दुख गरेर लगाएको खेती समयमा नै घर पूर्याउन सकिने पो हो की छैन भन्ने चिन्ताले उनिहरु सबैलाई सताइरहेको छ ।
भनिन्छ, किसानहरुले असारमा मानो रोपेर मंसिरमा मुरी भित्र्याउछन् । यो भनाई यि किसानहरुलाई हेर्दा अत्यन्त र सान्दर्भिक लाग्ने गर्दछ । धादिङको विर्तावेशी, र कुँडुले फाँटमा पनि किसानहरु भोक तिर्खा केहिको पनि वास्ता नै नगरी काम गरिरहेका छन् ।
उनिहरुलाई भोक र तिर्खाको भन्दा पनि बढि अन्न कसरी भित्र्याउने र यदि पानी परिहाल्यो भने विजोग हुन्छ भन्ने तिरको मात्र ध्यान छ । कतिपय किसानको आफ्नै जग्गा जमिन छ भने कति किसानले अरुको जमिन अदियामा लिएर खेति गरेको पाइन्छ ।
त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नंम्बर ८ – विर्तावेशीकी कान्छी माया श्रेष्ठ भन्नुहन्छ–“ मेरो खेती गर्ने जमिन नभएकाले विगत ३ वर्ष देखि अदिया गर्दै आइराखेको छु । विगतमा जस्तै अहिले पनि धान त रामै फलिएको छ तर फलेको आधा धान पराल जग्गा धनिलाई दिनुपर्दछ । आफुले गरेको दुख अनुसारको फलको आधा दिनुपर्ने भएकाले खासै फाइदा हुदैन । त्यै माथी मल बिउ र खेतालाको सबै आफैले मात्र हेर्नुुपर्ने भएकाले अलि गाह्रो हुने गर्दछ ।”
श्रष्ठको भनाई अनुसार विर्तावेशी फांटमा अधिकांश मानिसले अदियामा नै खेती गर्ने गरेका छन् । उनिहरु सबैले प्राय मनभोग धान नै खेती गर्ने गरेको पाइन्छ ।
त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नंम्बर ३ का किसान शिवनाथ रिजाल र युवराज रिजाले पनि आफूले गरेको परिश्रम अनुरुपको उत्पादन पाउदा खुसी लाग्ने गरेको बताउनुभएको छ। शिवनाथले ४ रोपनीमा १२ मुरी धान उत्पादन गर्ने गरेका छन् भने युवराजले १८ रोपनी क्षेत्रफलमा ४५ देखि ५० मुरी सम्म धान फलाउने गरेको बताउनुहुन्छ ।
उहाहरू भन्नुहुन्छ– “वेला बखतमा धान ढलेर उत्पादन घट्ने पनि गरेको छ । तर जे जस्तो भए पनि आफ्नो दुख को फल हो मायात लागिहाल्छ । रासायनिक मल प्रयोग नगरे खेति राम्रो हुदैन अनि प्रयोग गर्दा पनि मलको असर रहुञ्जेल हर्लक्क वढ्ने र पछि अलि अलि हावा चल्दा पनि ढलेर हैरान बनाउछ ।”
भनेको समयमा रासायनिक मलको सहज उपलब्धता नभइदिदा समस्या हुने गरेको गुनासो गर्ने गर्दछन । समय संगै स्रोत साधनमा पनि परिवर्तन भएको उहाहरू बताउनुहुन्छ।
उहाहरू भन्नुहुन्छ–“पहिले गोरु लगाइन्थ्यो भने अहि ट्रयाक्टर लगाएर जोतिन्छ, पहिले सबै खेताला अर्म पर्ममा पाइन्थ्यो भने अहिले सबै खेताला ज्यालामा मात्र आउने गर्छन् त्यहि पनि आज भोली त खेताला नै पाउन मुस्किल पर्दछ । गाँउ घरको युवा युवतीहरु सबै बजार तिर पढ़न बसेका छन् । गाँउमा प्राय सबै काम गर्न नसक्ने र वृद्ध वृद्धाहरू मात्र रहेका छन् । मनभोग धान लगाए पनि पहिलेको जस्तो स्वाद अनि बास्ना आउन छाडेको छ । पहिला त गाँउमा कुनै एउटाको घरमा मनभोग धानको भात पकाउदा गाँउ भरीकालाई थाहा हुन्थ्यो अहिलेत आफ्नै घरकालाई समेत थाहा हुदैन, बास्ना आउन छाडिसक्यो ।”
यसरी कृषिलाई नै आफ्नो दैनिकि बनाएर बसेका किसानहरु परम्परागत खेति प्रणलीलाई परमार्जन गर्दै आधुनिक खेति प्रणली तर्फ लम्कीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस