धादिङ ७ मंसिर
धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८० सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाको आयोजनामा एक भव्य लोक सांस्कृतिक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलले उद्घाटन गर्नुभएको थियो ।
बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरि मनाएका छन् । तीन सय मिटर माथि पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना रहेका छन् । झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर गंगाजमुनाको पूजाआजा गर्ने गरिन्छ ।
एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुना झरना र कुकुर धारा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र संमृद्धि छाउने,वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा निको हुने,सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहि आएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।
बुधबार उदघाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेले गंगाजमुना माईको इतिहास र अहिलेको बदलिदो समयमा पर्यटनमा पार्ने प्रभाव र गाउँपालिका र सिङ्गो धादिङलाई विकास गर्नका निम्ति गंगाजमुनामाईलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे सोच्नु हामी सबैको चासोको विषय रहेको बताउनुभयो ।
आफुले एक ठाउँको विकासको मात्र नभई सिङ्गो बागमती प्रदेशको बारेमा समान ढंगले सोचनुपर्ने भएको बताउदै गंगाजमुना तर्फको २ वटा सडकलाई बागमती प्रदेशको प्रादेशिक सडकको रुपमा नामाकरण गरि वडा नम्बर १ सम्म पु¥याउने योजना भएको समेत बताउनुभयो ।
बागमती प्रदेश अन्तर्गतको ५ सय ४३ वटा सडक अन्तर्गत गंगाजमुनामा रहेको दुईवटा सडक पनि प्रादेशिक सडक अन्तर्गत परेको र यसलाईपनि आफुहरुले आफ्नो मापदण्ड भित्र रहेर नामाकरण गरि निर्माणको प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।
मुख्यमन्त्री जमरकट्टेलले गाउँपालिकामा रहेको महत्वपूर्ण पुलहरु वडा नम्बर ५ मा रहेको फाप्री खोलाको पुल र वडा नम्बर ३ र २ जोड्ने ताप्राङ खोलाको पुलको निर्माण प्रक्रिया अगाडी बढेको जानकारी गराउनुभयो ।
त्यस्तै संघीय सांसद रामनाथ अधिकारीले गंगाजमुना गाउँपालिका पर्यटकीय दृष्टिकोणले एकदमै उत्कृष्ट भएको बताउनुभएको छ । उहाँले यस गंगाजमुना गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा प्रवद्र्धन र विस्तार गर्नका लागि पर्यटन मन्त्रालय अन्तर्गतबाट गंगाजमुना मन्दिर निर्माण र व्यवस्थापनका लागि संघीय सरकारले ५ करोड रुपैया रकम व्यवस्थापन गरेको बताउनुभयो ।
वडा नम्बर १ मा रहेको पासाङ महादेव,चौथला पर्यटन क्षेत्र ढुङगा बुद्ध पार्क लगायतका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विकास र विस्तारका साथै प्रचार गर्नका लागि आफू लागि परेको बताउनुभयो ।
उहाँले सम्पूर्ण गाउँबासीहरुलाई परेको समस्या तथा अप्ठ्याराका बारेमा आफुसँग खुलेर कुरा गर्न समेत आग्रह गर्नुभयो । जात्रामा गाउँपालिकाले नै हरेक वर्ष बृहद लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गङ्गाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सकिने र देशकै अर्थतन्त्रको बलियो आधार बन्न सक्ने छ ।
पक्की सडक निर्माण गर्न सके गङ्गाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सकिने छ ।
गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री शालिकराम जमरकटेल,संघीय सांसद रामनाथ अधिकारी,संविधानसभा सदस्य पुष्प विक्रम मल्ल,धन बहादुर घले,बागमती प्रदेश सांसद गोविन्द लम्साल,विभिन्न गाउँपालिकाका निर्वाचित जनप्रतिनिधीहरु,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,राष्ट्रिय तथा स्थानी लामा,बोन्पो,स्थाीय मौलिक भेषभुषा,सांस्कृतिक परम्परामा सजिएका नागरिकहरु,देशका दश जिल्ला भन्दा बढिका श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो ।
photo fiture
प्रतिक्रिया दिनुहोस