धादिङ ०३ मंसिर
धादिङको थाक्रे गाउँपालिकाको प्रशासनिक कार्यालय नवनिर्मित सुविधा सम्पन्न भवनबाट सञ्चालनमा आउने भएको छ ।
२०७४ मा स्थानीय तह भएदेखि भाडाको घरबाट सेवा सञ्चालन हुँदै आइरहेको गाउँपालिकाको प्रशासनिक कार्यालय आईतबार देखि औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुने भएको हो । महादेवबेसी वजारबाट ३ सय मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएपछि थांक्रे गाउँपालिकावासी खुसी भएका छन ।
यस अघि आफ्नै प्रशासनिक भवन नहुँदा २,३ वटा घर भाडामा लिएर पालिकाको विभिन्न सेवाहरू अलग अगल ठाउँबाट प्रवाह हुँदै आएकोमा अव सुविधा सम्पन्न एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सेवा सुविधा सजिलो छिटो र सहज तरिकाले नागरिकहरूले सेवा प्राप्त गर्न सहज हुने पालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनु भयो ।
६ रोपनी क्षेत्रफलमा तिन तले सुविधा सम्पन्न भवन करिब ५ करोड ६३ लाखको लागतमा २०७७ जेष्ठमा सुरु भएको निर्माण कार्य २०८० असारमा सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुबेदीले जानकारी दिनुभयो ।
देशको राजधानी काठमाण्डौबाट ३२ .५ कि.मी .दूरीमा रहेको रहेको यस गाउँपालिका ९६ .४१ वर्ग कि. मी .क्षेत्रफलमा फैलिएको छ । साविकको थाँक्रे ,केवलपुर, तसर्पु , भुमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ वडालाई समेटेर बनेको थाक्रे गाउँपालिकामा ११ वटा वडाहरू रहेका छन ।
पूर्वमा धुनिबेशी नगरपालिका , पश्चिम र उत्तरमा गल्छी गाउपालिका र नुवाकोट जिल्ला रहेको छ त्यस्तै दक्षिणमा मकवानपुर जिल्ला रहेको छ ।
प्रतिक्रिया दिनुहोस