धादिङ १६ कार्तिक
ब्रोम्दिङको सुन्दर प्राकृतिक मनोरम रमणीय दृश्यले स्वर्गीय आनन्द मिलेको धादिङको वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले बताउनुभएको छ ।
वडा नम्बर १ स्थित ब्रोम्दिङमा गाउँपालिकाको आयोजनामा बुधबार ब्रोम्दिङ पर्यटन महोत्सव उद्घाटन सत्रमा पुग्नुभएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले विहीबार सामूदायिक रेडियो रेडियो बिहानीसंग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘म यो गाउँपालिकामा आएको धेरै भएको छैन गाउँपालिकाले वडा नम्बर १ मा रहेको पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थामभञ्ज्याङ,सिमटार लगायतको ठाउँलाई एक्सप्लोर गर्न‘ब्रोम्दिङ पर्यटन महोत्सव’ सुरू गर्दा निक्कै उत्सुक्ता भएको थिए आज त्यहाँ पुगेपछि स्वर्गीय आनन्द मिलेको छ’ ।
उहाँले थप्दै भन्नुभयो‘–तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो,यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न संघीय,प्रदेश सरकारले विशेष योजना बनाएर बिकास गर्नु आवश्यक छ,हामीले भने भौतिक पुर्वाधारदेखि कृषि पर्यटन,विद्युत,शिक्षा स्वास्थ्य , खानेपानी , पोषणका क्षेत्रमा कार्यक्रम नै बनाएर यो आर्थिक बर्षमा काम गर्ने छौँ ।
अधिकृत घिमिरेले जिल्लाकै आकर्षक छोटो दुरीमा पुग्न सकिने उक्त स्थान पर्यटकीय गन्तव्यमा बिकास गर्न सके अर्थतन्त्रको बलियो आधार स्थापना हुने बताउनुभयो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले त्यस स्थानलाई विशेष योजना बनाएर बिकास गर्ने प्रतिबद्धता गरेकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै सांसद मधु कुमार श्रेष्ठले चलचित्र(फिल्म)सुटिङ स्पोटको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।
समुन्द्रि सतहबाट २२ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल,मनास्लु,लाङटाङ लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा प्रदेश सांसद मधुकुमार श्रेष्ठ , गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायत विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,पर्यटन व्यवसायी,संचारकर्मी स्थानीय जनसमूदायहरुको भव्य सहभागीता रहेको थियो ।
ब्रोम्दिङ पर्यटन महोत्सव’ बुधबारदेखि सुरु भई बिहीबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस