धादिङ ०६ कार्तिक
अत्याधिक चासो रहेको धादिङबेसी टारीबेसी सडक खण्डको कालोपत्रे काम सम्पन्न हुन नपाउदै ठाउँ ठाउँमा पिच उप्किन थालेको छ । लामा कन्ट्रक्सनले ठेक्का पाएको उक्त सडक खण्ड कालोपत्रे गरेको केही समयमै कमसल निर्माण सामग्रीको प्रयोग र व्यवस्थित काम हुन नसक्दा ठाउँ ठाउँमा कालोपत्रे उप्की सडक सञ्चालनमा समस्या भएको स्थानीय बताउँछन् । ठेक्का सम्झौता भएको लामो समय बित्दा पनि काम सम्पन्न नभएको र काम गरिएता पनि कमसल काम गरेकाले खाल्टो खुल्टी र पिच भत्केका कारण धादिङबेसी टारीबेसीे खण्डमा आवागमनमा समस्या भएको छ । यता आयोजना प्रमुख नवीनमान श्रेष्ठ काम सम्पन्न भएता पनि ठेकेदार कम्पनीको मर्मत अबधी बाकी रहेकाले बिग्रिएको सडक तत्कालै मर्मत गर्ने बताउनु भयो । सडक खण्डको हनुमान डाँडा भन्दा तलको भागमा करिब ३५ मिटर सडक कालोपत्रे नै नगरिएको समेत पाइएकाले ठेकेदार कम्पनीका युरोज अर्यालसँग जानकारी लिदाँ बुढीगण्डकी परियोजनाबाट डुबानमा पर्ने, स्थानीयको बिबाद आदिले गर्दा काम गर्न कठिनाइ भएको बताएका छन् ।
स्थानीय राजन शाहले आयोजनाले करिब ५ सय स्थानीयलाई मुआब्जा समेत नदिएको र सडक अत्यन्त साघुरो कालोपत्रे भएका ठाउँमा पनि सडकको लेभल एउटै नभएको बताए । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आफूले सडकको निरीक्षण गरेर ठेकेदार कम्पनीलाई तत्काल मर्मत गर्न अनुरोध गरेको बताएका छन् । धादिङ र गोरखाको उत्तरी क्षेत्र प्रवेश गर्ने सडकमार्गको कालोपत्रे गुणस्तर नहुदा समेत निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले खबरदारी नगरेको यात्रुहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस