धादिङ २४ असोज
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण अभियान कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
विहीबार वडा नम्बर १ को ज्येष्ठ नागरिकहरुको घरदैलो गरि गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुजा खनाल,योजना शाखा प्रमुख परशुराम घिमिरे लगायत गाउँपालिकाका कर्मचारीहरुको सहभागीतामा सम्मान गरिएको हो ।
गाउँपालिका अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिका भित्रका १० वटै वडाका ८४ वर्ष भन्दा माथि उमेरका १ सय ७४ महिला र १ सय २३ जना पुरुष गरि २ सय ९७ जना ज्येष्ठ नागरिकहरुलाई दौरा सुरुवाल र गुन्यू चोलीले सम्मान गरिएको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुजा खनालले रेडियो बिहानीलाई बताउनुभयो ।
गाउँपालिकाको सबै वडा मध्ये ५ नम्बर वडामा वाँकी रहेको हुँदा दशैँ आगवै सम्मान गर्ने खनालले बताउनुभयो । ५ नम्बर वडामा ८४ बर्ष माथिको ३५ जना ज्येष्ठ नागरिकहरु रहेका छन् ।
उहाँले हिड्न नसक्ने, स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने जेष्ठ नागरिक तथा असक्तहरुको लागि स्वास्थ्य परिक्षणका क्रममा प्रेसर, सुगर परिक्षण तथा नसर्ने रोगहरुको पहिचान गरी आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । घरमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्य परिक्षण गर्ने र सम्मान स्वरुप लत्तकपडा प्रदान गरेपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् ।
३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सुरुवात गरिएको ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रमलाई आगामी दिनमा थप सेवासुविधा र व्यवस्थित तवरबाट निरन्तरता दिने बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।
ज्येष्ठ नागरिक नै हाम्रो ईतिहास भएकाले नजिकिदै गरेको वडादशैको अवसर पारेर गाउँपालिका भित्रका ज्येष्ठ नागरिकलाई शुभकामना दिएर सुझाव पनि संकलन गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय सरकारको प्रत्याभुती गर्ने गरी आफुहरुले काम गरीरहेको बताउदै पालिका भित्रका ज्येष्ठ नागरिकहरुको समस्यामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस