धादिङ १७ असोज
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थीको मृत्यु भएको छ ।
बुधबार विहान काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका–६ परेवाटारका राजकुमार श्रेष्ठको १४ वर्षीय छोरा निर्मल श्रेष्ठ र उद्दव श्रेष्ठको १४ वर्षीय छोरा संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
मृतक दुवैजना वेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा रहेको बागेश्वरी माविको कक्षा आठमा अध्ययनरत बिद्यार्थी हुन् ।
ट्युसन पढ्न जाँदै गरेका उनीहरुलाई ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनापछि भागेको ट्रक र ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई इलाका प्रहरी कार्यालय वेनिघाटले नियन्त्रणमा लिएको छ ।
बागेश्वरी माध्यमिक विद्यालयको विद्यार्थीहरुले न्यायको माग गर्दै जुलुस प्रदर्शन पनि गरिराखेका छन् । राजमार्गको मलेखु क्षेत्रमा दुईतर्फी सडक अवरुद्ध गराएका छन् ।
प्रतिक्रिया दिनुहोस