धादिङ ०१ कार्तिक
धादिङ जिल्लामै पहिलोपल्ट खानेपानीको गुणस्तर परीक्षण गर्ने मिनिल्याबको स्थापना गरिएको छ । उपभोक्ताले प्रयोग गर्ने खानेपानीको शुद्धता मापन गर्ने यन्त्र धादिङ जिल्लामै पहिलो भएको शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले बताउनु भयो । उपभोक्ताहरुले पिउने पानी शुद्ध छ कि छैन ? प्रयोग योग्य छ कि छैन ? कस्ता कस्ता कीटाणुहरु छन् ? भन्ने कुरा परीक्षण गर्ने परिपाटी नभएको सन्दर्भमा उक्त मिनिल्याबको स्थापनाले उपभोक्ताले प्रयोग गर्दै आएको खानेपानी प्रयोग योग्य छ कि छैन ? त्यसको शुद्धता मापन गरी स्वच्छ खानेपानी उपभोग गर्न उपभोक्ताहरुलाई प्रेरित गर्ने उद्देश्यका साथ उक्त मिनिल्याबको स्थापना भएको हो । वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोको प्राबिधिक सहयोग तथा शान्ति नेपाल धादिङको सञ्चालनमा सुुरु भएको मिनिल्यावले न्युनतम शुल्कमा उपभोक्ताहरुले प्रयोग गर्दै आएको खानेपानीको गुणस्तर परीक्षण गरी शुद्ध र स्वच्छ खानेपानी प्रयोग गरी आम नागरिकलाई स्वस्थ बनाउन महत्त्वपूर्ण सहयोग पु¥याउने शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्यले बताउनु भयो ।
मिनिल्याबको उद्घाटन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले पूर्ण सरसफाइ र स्वच्छ खानेपानीको क्षेत्रमा यो मिनिल्याब कोशेढुङ्गा सावित हुने बताउदै धादिङ जिल्लालाई पहिलो पूर्ण सरसफाइयुक्त जिल्ला निर्माण गर्नमा समेत यो मिनिल्याबको भूमिका महत्त्वपूर्ण रहने बताउनु भयो । उक्त ल्याबमा पानीको धमिलोपना, पिएच, तापक्रम, फलाम, क्लोराइड, नाइट्रेट, कडापन, एमोनिया फोस्फोरस, क्लोरिन, अवशेष, इ कोली र कोलिर्फाम गरी १२ किसिमको परीक्षण गरिने छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ ले खानेपानीको गुणस्तर तथा स्वच्छता मापन गर्ने २८ वटा मापदण्ड निर्धारण गरेको छ । ल्याव सञ्चालनका लागि वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोको प्राविधिक सहजीकरण तथा २ लाख सहयोग र शान्ति नेपालको ३ लाखबाट सामग्री व्यवस्थापन गरिएको शान्ति नेपालका कार्यक्रम संयोजक पि.आर शर्माले बताउनु भयो । शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने उप प्रमुख विन्दा बराम, खानेपानी डिभिजन कार्यालय धादिङका प्रमुख सीताराम काफ्ले, वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक विपिन डङ्गोल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस