धादिङ ३० भाद्र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै छ ।
उहाँले आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ,त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस