धादिङ २२ भाद्र
चेपाङ सङ्घले हरेक वर्ष चितवन,धादिङ मकवानपुर लाई केन्द्र मानेर न्वागी (छोनाम)मनाउँदै आएका छन् ।यस बर्ष धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङलीमा विशेष सांस्कृतिक कार्यक्रमको उदघाटन गरि मनाएको हो ।
चेपाङ संघ केन्द्रिय अध्यक्ष गोविन्द चेपाङको अध्यक्षता बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जम्बटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जस्को बिशिष्ठ अतिथिको रुपमा संघीय सांसद रामनाथ अधिकारी,बागमती प्रदेश सरकारका पुर्व राज्यमन्त्री सन्त बहादुर चेपाङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले धादिङ मकवानपुर र चितवनका चेपाङ समूदायका बिकासका निम्ति संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने कुराहरु बाहिर आएको हुनाले राजनैतिक स्वार्थ भन्दा पनि संस्थागत रुपमा कार्यदलनै बनाएर बिकास र संबृद्धिमा जोड्नुपर्ने तर्क व्यक्त गर्नुभयो । सबै जनसमूदाय एक भएर चेपाङ समूदायलाई सामाजिक न्यायसंगत ढङ्गले बिकास गर्नुपर्ने संघीय सांसद रामनाथ अधिकारीले बताउनुभयो ।
बागमती प्रदेश सरकारले न्वागी(छोनम)मनाउन धादिङ, चितवन र मकवानपुरमा शुक्रबार सार्वजनिक बिदा दिएको थियो । गण्डकी प्रदेशको गोरखाका विभिन्न स्थानीय तहहरुलेपनि सार्वजानिक विदा दिएर भव्य रुपमा न्वागी मनाएको छ ।
सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ । चेपाङ समुदायको जनसंख्या सबैभन्दा धेरै चितवन,मकवानपुर र धादिङमा छ । नेपालको करिव २६ जिल्ला ओगटेको यस समूदाय देशभर ८४ हजार ३ सय ६४ जनसंख्या रहेका छन् ।
चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी(छोनाम)पर्व मनाउँछन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ,यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । विहीबार राती देखि जागराम बसि आज शुक्रबार उत्सवको रुपमा मनाउने गरिएको चेपाङ संघ केन्द्रिय अध्यक्ष गोविन्द चेपाङ बताउछन् ।
नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो रहेकोछ । चेपाङ समुदायले मनाउने यो ‘न्वागी’(छोनाम) उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् ।
यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।
चेपाङ जातिलाई भौगोलिक संरक्षित भौगोलिक क्षेत्रभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको हुनाले जन्मदेखि मृत्युसम्मको संस्कार पनि भूमिसँग सम्बन्धित छ ।
प्रतिक्रिया दिनुहोस