धादिङ २२ भाद्र
आज निजामती कर्मचारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विसं २०६२ देखि हरेक वर्षको भदौ २२ मा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको अवसरमा यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ।
यो वर्ष पनि सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। साथै सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।
यसैबीच मुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाको भनाइ छ ।
उहाले निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न आफू लागि पर्ने बताउनुभयो । प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन आफू प्रयासरत रहेको उहाको भनाइ रहेको छ ।
यसै दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले रक्तदान, मैत्रीपुर्ण फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, खुल्ला कविता वाचन प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
यसको पुरस्कार तथा सम्मान भने भाद्र २२ गते अर्थात (आज) शुक्रबार निजामती कर्मचारी दिवसको दिन जिल्ला समन्वय समिती सभाहलमा भव्य कार्यक्रम गरी हस्तनतरण गर्ने कर्मचारी मिलन केन्द्र धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस