धादिङ २१ भाद्र
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
माडी नगरपालिकाले विहिबार आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उहाँको भनाइ छ ।
माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उहाँले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताउनुभयो । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस