धादिङ १३ असोज
चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार धादिङबेशी बजारमा अनुगमन गरेको छ । जिल्ला अनुगमन समिति धादिङले जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेका विभिन्न फेन्सी पसलहरुमा अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा गएको टोलीले धादिङबेसी बजार क्षेत्रका ३० वटा फेन्सी पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलहरुको प्यान दर्ता नभएको, अधिकाशं पसलहरुमा सामान बिक्रि, वितरण गर्दा विलको प्रयोग नगरेको, ग्राहकसँग मनपरी मूल्यमा सामान बिक्रि वितरण गर्ने गरेको र समयमै कर चुक्ता नगरेको लगायतका समस्याहरु भेटिएको कर कार्यालय गल्छीका प्रमुख रमेश रेग्मीले जानकारी दिनुभयो ।
व्यापारीहरुको यस्ता कार्यले गर्दा ग्राहकहरु मर्कामा पर्ने गरेको भन्दै उहाँले दर्ता नभएको पसलहरुलाई दर्ता गर्न, कर चुक्ता नभएका पसललाई कर चुक्ता गर्न र बिल सञ्चालनमा नल्याएका पसललाई बिल सञ्चालनमा ल्याउनको लागि एक हप्ताको समय दिई पत्र काटेको बताउनु भयो । फेन्सी पसलहरुले चाडपर्वको समयमा अत्याधिक रुपमा ग्राहकहरु ठग्ने गरेको भन्दै शर्माले अनुगमन कार्यलाई निरन्तरता दिईने बताउनु भयो । यस्तै सम्पूर्ण ग्राहक वर्गलाई आफूले सामान किन्दा अनिवार्य रुपमा खरिद मूल्य सूची विल लिएर मात्र सामान खरिद गर्न पनि आग्रह गर्नुभएको छ । चाडपर्वको समयमा धेरै सर्वसाधारणहरु मारमा पर्ने र चर्को मूल्य तिर्न बाध्य भएको गुनासो आउन थाालेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । हरेक सामानहरुमा व्यापारीहरुले २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने करदाता सेवा कार्यालयका प्रमुख रेशम रेग्मीले बताउनु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा गरीएको अनुगमनमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्का, करदाता सेवा कार्यालयका प्रमुख रेशम रेग्मी, घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख किशोर सापकोटा, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस